चलचित्रमा नयाँ आयाम, ‘दुखी आत्मा’मा श्रवण मुकारुङका १० कविता



काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ आयाम थपिएको छ । चर्चित कवि श्रवण मुकारुङका कविताहरू अब चलचित्रको पर्दामा पनि सुन्न पाइने भएको छ । दीपेन्द्र लामा लिखित तथा निर्देशित चलचित्र ‘दुखी आत्मा’का लागि मुकारुङले विशेष रूपमा १० वटा कविता रचेका हुन् ।

चलचित्रको कथावस्तु र पात्रहरूको मनोविज्ञानलाई थप गहिराइ प्रदान गर्न मुकारुङका कविताहरूलाई चलचित्रमा समावेश गरिएको छ। “माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे…” जस्ता चर्चित गीतका रचनाकार मुकारुङ आफ्ना कविताहरूले चलचित्र मार्फत थप दर्शकसम्म पुग्ने भएकोमा उत्साहित छन् ।

“चलचित्रका फराकिलो दर्शक समूहसम्म कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,” मुकारुङले भने, “म आफ्ना कविताहरूलाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।”

निर्देशक लामाका अनुसार, मुकारुङका कविताहरूले चलचित्रको कलात्मक उचाइलाई मात्र नभई कथाको भावनात्मक गहिराइलाई पनि बढाएको छ । “कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत पूर्ण रूपमा व्यक्त गर्न गाह्रो हुन्छ, त्यसैले कविताको सहारा लिइएको हो,” लामाले भने ।

मुकारुङका अधिकांश कविताहरू चलचित्रका मुख्य अभिनेता दयाहाङ राईमा केन्द्रित छन् । ‘दुखी आत्मा’ मा दयाहाङ राईसँगै आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई लगायतका कलाकारहरूको अभिनय रहेको छ । आलोक शुक्लाले खिचेको यो चलचित्र २ फागुनमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu