काठमाडौं – नेपालको चलचित्र उद्योगमा ऐतिहासिक व्यापारिक सफलता हासिल गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शनलाई लिएर निर्माताको निर्णय र वितरकको प्रतिक्रिया पछि विवाद चुलिँदै गएको छ । यो विवादले नेपाली चलचित्र उद्योगमा नयाँ हलचल मच्चाएको छ ।
सोमबार नेपाल चलचित्र सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रलाई लिएर निर्माता कम्पनी ‘सेभेन सिज सिनेमा’को गतिविधिप्रति गम्भीर असहमति व्यक्त गरेको छ । सङ्घका महासचिव सुरेन्द्र कुमार थापाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सेभेन सिजले कानुनी व्यवस्था र परम्परालाई अवज्ञा गरेको भन्दै आगामी दिनमा सो कम्पनीले निर्माण तथा वितरण गर्ने कुनै पनि चलचित्र नेपालका चलचित्र हलहरूले प्रदर्शन नगर्ने कडा चेतावनी दिइएको छ ।
वितरक चलचित्र निर्माण पक्ष र हल सञ्चालकहरूबिचको मध्यस्थकर्ता हो । कानुनी रूपमा, चलचित्र प्रदर्शक (हल सञ्चालक) ले चलचित्र प्रदर्शनका सन्दर्भमा कुनै पनि निर्णय गर्न चलचित्र वितरकको निर्देशन पालना गर्नुपर्ने जनाउँदै विज्ञप्तिमा भनिएको छ – “चलचित्र घरमा प्रदर्शकले, चलचित्र वितरक मार्फत मात्र चलचित्र प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको छ । यो नियमले चलचित्र प्रदर्शकको चलचित्र व्यवसायको सरोकार चलचित्र वितरकसँग मात्र रहन्छ । चलचित्र वितरक चलचित्र प्रदर्शनको आधिकारिक संस्था हो ।”
विज्ञप्तिमा सेभेन सिजले अघिल्ला गतिविधिहरूबाट पनि सङ्घका सदस्यहरूको मानमर्दन गरी व्यावसायिक प्रतिष्ठामा समेत आँच पुर्याएको आरोप लगाइएको छ । सङ्घले यस्ता क्रियाकलाप भविष्यमा सह्य नहुने जनाउँदै भनेको छ – “सेभेन सिज सिनेमाले नेपाल चलचित्र सङ्घका सदस्यहरूको, विज्ञप्तिमार्फत पटक पटक मानमर्दन गर्ने कार्य गरेकोमा खेद प्रकट गर्दछौँ । यस्तो कार्य नेपाल चलचित्र सङ्घलाई कदापि सह्य हुन सक्दैन ।”
सङ्घले सेभेन सिजले आफ्नो कदमको स्पष्टीकरण नदिएसम्म सङ्घका सदस्यहरूले (हल सञ्चालकहरूले) सो कम्पनीबाट निर्माण वा वितरण हुने कुनै पनि चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको छ । “जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र सङ्घलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र सङ्घका सदस्यहरूले प्रदर्शन नगर्ने समेत जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चलचित्र निर्माण पक्षको व्यावसायिक प्रतिनिधि चलचित्र वितरक रहेको जनाउँदै सङ्घले विगतमा पनि यस किसिमको कार्य हुँदै आएकोमा अब उप्रान्त यस किसिमको कार्य नगर्न सचेत गराएको छ । सङ्घले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को उत्साहजनक व्यापारमा चलचित्र प्रदर्शकको योगदान स्मरण गराएको छ ।
विवादको उत्पत्ति
यो विवाद केही समयअघि सेभेन सिजले काठमाडौं उपत्यका बाहिरका केही हलहरूले व्यापारमा छल गरेको भनी विज्ञप्ति निकाल्दै हलहरूको नाम समेत सार्वजनिक गरेपछि सुरु भएको थियो । नेपाली चलचित्र क्षेत्रका केही महत्त्वपूर्ण र पुराना व्यक्तिले सञ्चालन गरेका हलहरू समेत उक्त सूचीमा परेका थिए । सो सूचीमा चलचित्र सङ्घका पूर्व अध्यक्ष तथा निर्माता समेत रहेका प्रदीप कुमार उदयले सञ्चालन गरेको द्वारिका उदय चलचित्र हल (बुटवल) पनि समावेश थियो । चलचित्र विकास बोर्डले पनि सूचीमा रहेका अधिकांश हलहरू गैर कानुनी भएको भन्दै एक्सनमा गएको थियो ।
यो विवाद गत शनिवार थप चुलियो । गत बिहीबार भारतीय चलचित्र ‘पुष्पा २’को रिलिजसँगै हल सञ्चालकहरूले पूर्ण बहादुरको सारङ्गी का शो घटाएका थिए । सेभेन सिजले हलहरूको यो कदमप्रति असन्तुष्टि जनाउँदै, चलचित्र प्रदर्शन स्थगित गर्ने घोषणा गरेको थियो । तर, वितरक कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले सहमतिको कानुनी धारालाई आधार मानी यो निर्णयलाई खारेज गर्दै चलचित्र प्रदर्शनलाई निरन्तरता दिन हलहरूलाई निर्देशन दिए ।
वितरक कम्पनीका अनुसार, चलचित्र प्रदर्शनको अधिकार छ महिनासम्मका लागि उनीहरूसँग निहित रहने सहमति भएको थियो । यो समयावधि दुवै पक्षको सहमतिमा मात्र परिवर्तन गर्न सकिने उल्लेख छ । तर, सेभेन सिजले यस सहमतिलाई उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
हाल, चलचित्र सङ्घले भने हल सञ्चालकहरू र वितरकहरूको अधिकार र भूमिका संरक्षण गर्न आफ्नो समर्थन रहेको जनाउँदै पछिल्लो कदम चालेको जनाएको छ । सङ्घले ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन कायमै रहने तर सेभेन सिजले अब बनाउने र वितरण गर्ने सबै चलचित्र प्रदर्शन नगर्ने जनाएको हो ।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले आइतबार साँझ सोसल मिडियामा एक पोस्ट लेख्दै ‘एउटा गम्भीर निर्णय गर्ने बेला भएको’ बताएका थिए । उनले लेखेका थिए – “जिन्दगी मा धेरै मेहनत पछि सफलतामा खुसी साट्ने बेलामा एउटा गम्भीर निर्णय गर्ने बेला भएको छ ! परिणाम जे होला देखा जायेगा !”
‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपाली बक्स अफिसमा ४५ करोड भन्दा बढीको ग्रस व्यापार गर्दै इतिहास रचेको छ ।
यस विषयसँग सम्बन्धित यी समाचारहरू पनि पढ्नुहोस्:
- ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता र वितरकबीच विवाद, चलचित्र नरोक्न हललाई पत्राचार –
- हलले विभेद गरेको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्णय
- ‘पूर्ण बहादुरको सारङ्गी’ उतारिएका अधिकांश हलको इजाजत रद्द रहेको पाइयो, बोर्डले एक्सन लिने
- व्यापारमा छल गरेको भन्दै २० हलबाट ‘पूर्ण बहादुरको सारङ्गी’ उतार्ने निर्णय