काठमाडौं – इतिहासकै सबैभन्दा ठूलो व्यापार गरेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता र वितरकबीच विवाद उत्पन्न भएको छ । चलचित्रलाई हलबाट उतार्ने निर्माताको निर्णय र वितरक गरेको यसको विरोधले चलचित्र उद्योगमा हलचल मच्चिएको छ ।
निर्माता कम्पनी सेभेन सिजले ‘पुष्पा २’ रिलिजपछि हलहरूले दिएको थोरै शोहरूमा असन्तोष जनाउँदै चलचित्रलाई सोमबारदेखि प्रदर्शन रोक्ने घोषणा गरेको थियो । तर, वितरक कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले यसको खण्डन गर्दै प्रदर्शनलाई निरन्तरता दिन हलहरूलाई पत्राचार गरेका छन् ।
वितरकले निर्मातासँग भएको सहमतिको कानुनी धारालाई आधार बनाउँदै प्रदर्शन रोक्न अस्वीकार गरेका हुन् । सहमतिअनुसार, नेपाली हलहरूमा रिलिज मिति कात्तिक १५, २०७५ बाट ६ महिनाको लागि फिल्मको वितरण तथा प्रदर्शन अधिकार वितरकमा निहित हुने उल्लेख छ ।
सहमतिमा उक्त समयावधि दुवै पक्षको आपसी सहमतिमा मात्र थपघट गर्न सकिने र प्रथम पक्षको वितरण एवं प्रदर्शन सम्बन्धी अधिकारलाई दोस्रो पक्षले कुनै पनि आधार र कारण देखाई नकारात्मक असर पर्न सक्ने क्रियाकलाप गर्न नपाइने समेत उल्लेख रहेको विवरण सार्वजनिक भएको छ । हलहरूले वितरकको पत्राचारलाई आधार मानी चलचित्रको टिकट बिक्री गरेका छन् ।
चलचित्रले हालसम्म घरेलु बक्स अफिसमा मात्र ४५ करोड माथिको रुपैयाँ ग्रस आम्दानी गरेको छ ।