हलले विभेद गरेको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्णय



काठमाडौं – बिहीबार रिलिज भएको भारतीय ब्लकबस्टर चलचित्र ‘पुष्पा २’ले नेपाली बक्स अफिसमा पनि तहल्का मच्चाइरहेको छ । तर, यसको छायामा पर्दै सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई भने ठुलो धक्का लागेको छ । दर्शकको भारी भीडलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले ‘पुष्पा २’ लाई प्राथमिकता दिएपछि ‘सारङ्गी’का निर्माताहरूले चलचित्र हलबाट आफ्नो फिल्म उतार्ने निर्णय गरेका छन् ।

निर्माण कम्पनी सेभेन सीज सिनेमाले एक विज्ञप्ति जारी गर्दै केही हल सञ्चालकहरूले ‘पूर्ण बहादुरको सारङ्गी’लाई नजरअन्दाज गरेको भन्दै आलोचना गरेको छ । कम्पनीले आफ्नो चलचित्रलाई कर्नरिङ गरिएको आरोप लगाएको छ । कम्पनीका अनुसार, ‘पुष्पा २’ को रिलिजपछि ‘सारङ्गी’ले पाउने शोको सङ्ख्यामा ह्रास आएको छ ।

‘पुष्पा २’ को आगमनसँगै नेपाली चलचित्रलाई पछाडि पार्दै हल सञ्चालकहरूले विदेशी चलचित्रलाई प्राथमिकता दिएको भन्दै पुनः एक पटक चिन्ता व्यक्त गरिएको छ । जब जब विदेशी चलचित्रहरू नेपालमा रिलिज हुन्छन् तब तब यो विवाद चर्किरहन्छ । यसअघि पनि ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदा दुई ठुला हिन्दी चलचित्र रिलिज भएका थिए र ‘सारङ्गी’ले थोरै शो प्राप्त गरेको थियो । तर, ‘सारङ्गी’ले यी दुवै चलचित्रलाई पाखा लगाई घरेलु बक्स अफिसमा हालसम्म ४५ करोड भन्दा माथिको ग्रस व्यापार गर्दै नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने घरेलु चलचित्रको कीर्तिमान बनाइसकेको छ ।

पछिल्ला दिनहरूमा ‘पुष्पा २’को आक्रमणका बाबजुद पनि ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न दर्शक आइरहेका थिए । यस्तो अवस्थामा समेत हलले शो घटाएपछि यो विवाद उत्पन्न भएको हो ।

हेर्नुहोस् विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu