काठमाडौं – चलचित्र विकास बोर्डले कानुनको पालना नगरेका देशभरका दर्जनौँ चलचित्र हललाई कारबाहीको प्रक्रिया थालेको छ । लामो समयदेखि इजाजत पत्र नवीकरण नगरी, चलचित्र विकास शुल्क नतिरी र प्रदर्शन इजाजत नलिई चलिरहेका यी हलहरूलाई कानुनी दायरामा ल्याउन बोर्डले देशव्यापी अभियान चलाएको छ ।
यसै क्रममा, सिराहाको बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनले तालाबन्दी गरेको छ । चलचित्र विकास बोर्डसँगको समन्वयमा गरिएको यो कारबाहीले चलचित्र क्षेत्रमा हल सञ्चालकहरूमा तरङ्ग ल्याएको छ ।
सिराहा मात्र होइन, मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटा जिल्लाका ११ वटा हलमाथि पनि कारबाहीको तयारी भइरहेको बोर्ड स्रोतले जनाएको छ । बोर्डले यी जिल्लाका प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई पत्र लेखी कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी स्वयं गण्डकी प्रदेशका हलहरूको अनुगमनमा व्यस्त छन् । बोर्डका अन्य १२ जना कर्मचारीहरू पनि देशभरका हलहरूको अनुगमनमा खटिएका छन् ।
अझै पनि कानुनको पालना नगर्ने हलहरूलाई बोर्डले कडा कारबाही गर्ने चेतावनी दिएको छ । “केही चलचित्र हलहरू बोर्डको आग्रहलाई अटेर गर्दै बसिरहेको पाइएको छ । कानुनी दायरामा आउन नमाने बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि लिएर हलमा प्रदर्शन रोक्ने, इजाजत पत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट जिन्दगीभर हल खोल्न नपाइने सम्मको कारबाही गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि हुनसक्छ,” अध्यक्ष डिसीले बताए । डिसीले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित बनाउन यस प्रकारको कदम चालिएको जनाएका छन् ।