काठमाडौं – यही डिसेम्बर १२ देखि नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ पहिलो पटक चिनियाँ दर्शकलाई लक्षित गर्दै हङकङको बक्स अफिसमा प्रदर्शन हुने भएको छ । त्यहाँको ‘गोल्डेन सिन सिनेमा’ले यस चलचित्रको वितरण अधिकार खरिद गरेर चिनियाँ सबटाइटलमा अनुवाद गरी प्रदर्शन गर्न लागेको हो ।
हाल हङकङका विभिन्न स्थानहरूमा यस चलचित्रको प्रचार भइरहेको छ । निर्देशक नबिन सुब्बाका अनुसार विभिन्न चोकहरू, पुस्तकालय, चार्जिंग स्टेशन लगायतमा डिजिटल बोर्डहरू तथा भिडियोबाट प्रचार भइरहेको छ । हालसम्म केनेडी टाउनको गोल्डेन सिन सिनेमा, याउ मा तेईको ब्रडवे सिनेमाथेक, त्सिम शा सुई स्टेशनको के११ आर्ट हाउस, तुन मुनको पेरिस लन्डन न्युयोर्क मिलानो सिनेमालगायतका सिनेमा हलहरूमा यो चलचित्रको दिनभर प्रदर्शनको टुंगो लागिसकेको छ थप हलहरूमा पनि प्रदर्शन हुने निर्देशक सुब्बाले बताए ।
यसअघि, हङकङको नेपाली समुदाय लक्षित गरी गत अक्टोबर २० मा विशेष प्रदर्शन गरिएको थियो । यसको लागि नेपालबाट निर्देशक सुब्बासहित अभिनेत्री पशुपति राई, बाल कलाकार प्रसन राई, र मिङ्सो लिम्बू हङकङ गएका थिए । यो चलचित्र हङकङसँगै मकाउ, थाइल्यान्ड, इन्डोनेसिया, इटाली र युकेमा पनि प्रदर्शन गरिने बताइएको छ ।
‘गाउँ आएको बाटो’ले चिनियाँ बजारमा नेपाली चलचित्रको लागि इतिहास बनाउने निर्माता अमोद राईले बताए । हङकङका कार्यकारी निर्माता देवराज राईले चलचित्रलाई हङकङसम्म ल्याउन धेरै चुनौती पार गर्दै सफल भएको बताए । उनले भने, “गाउँ आएको बाटो समयमा हङकङ नआएकोमा धेरै गुनासो आएका थिए । तर नेपाली फिल्मलाई यहाँको समुदायसम्म पुर्याउने अठोटले ढिलो भए पनि धेरै बाधाहरू पार गर्दै हामीले यो चलचित्र यहाँसम्म ल्याउन सफल भएका छौँ ।”
नेपाली फिल्ममेकिङ इतिहासमा ‘गाउँ आएको बाटो’मा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरूको सहभागिता रहेको छ । ताइवानका क्वान पुन लुङले चलचित्रको सम्पादन गरेका छन् भने हङकङकी हाइडी लीले सङ्गीत संयोजन गरेकी छन् ।
चलचित्रको सह-निर्मातामा हङकङका अरुण राई, मातृदीप राई, रामली राई, सुमन बोनेम, र मायादेवी राई लगायतका व्यक्तिहरू रहेका छन् । दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारहरूले चलचित्रमा अभिनय गरेका छन् ।
यसअघि ‘गाउँ आएको बाटो’लाई क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउ पाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, र चीनको बेइजिङजस्ता अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन गरिएको थियो । अमेरिकी छायाकार जोस हेरमले चलचित्रको छायाङ्कन गरेका हुन् ।