अल्लू अर्जुनको बहु प्रतीक्षित चलचित्र ‘पुष्पा-२’ ले सिनेमाघरमा रिलिजको पहिलो दिनमै नयाँ रेकर्ड बनाएको छ । सन् २०२१ मा आएको ‘पुष्पा: द राइज’को सफलतापछि यो सिक्वेललाई दर्शकले निकै प्रतीक्षा गरेका थिए । चलचित्रले पहिलो दिनमै भारतमा १६५ करोड रुपैयाँको नेट कलेक्सन गर्दै भारतीय चलचित्र इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ ।
‘पुष्पा-२’ ले एसएमएस राजामौलीको आरआरआर (१५६ करोड) र शाहरुख खानको जवान (६५ करोड) को रेकर्ड तोडेको छ । चलचित्रले हिन्दी संस्करणमा मात्र ६६–६८ करोड रुपैयाँको कलेक्सन गरेको छ, जुन हिन्दी भाषामा अहिलेसम्मकै उच्च ओपनिङ हो ।
एडभान्स बुकिङको पहिलो २४ घण्टामा ‘पुष्पा-२’ का ३ लाखभन्दा धेरै टिकट बिक्री भएका थिए । भारतभर पहिलो दिनमै १२ करोड रुपैयाँ बराबरको एडभान्स बुकिङ भएको थियो । यसअघि पठान (२०२३) ले २ लाख टिकट बिक्री गर्दै रेकर्ड राखेको थियो, जसलाई ‘पुष्पा-२’ ले पछि पारेको छ ।
सुकुमारको निर्देशनमा बनेको यो चलचित्र तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज भएको छ । अल्लू अर्जुनले पुष्पराजको भूमिका निर्वाह गरेका छन् भने रश्मिका मन्दनाले श्रीवल्लीको भूमिकामा दर्शकको मन जितेकी छिन् ।
चलचित्रमा दमदार कथा, उत्कृष्ट एक्सन दृश्य र प्रभावशाली संवाद छन् । चलचित्रको सिनेम्याटोग्राफी निकै प्रभावशाली रहेको छ । लोकेसन र एक्सन दृश्यलाई भव्य रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई ठूलो पर्दामा बेग्लै अनुभव दिन्छ ।