काठमाडौं – सन् २०१५ मा रिलिज भएको नेपाली चलचित्र ‘रेशम फिलिली’ फेम्ड निर्देशक प्रणव जोशीले नेवारी इतिहासमा आधारित एक ऐतिहासिक महाकाव्य निर्माण गर्ने भएका छन् । उनले आफ्नो नयाँ प्रोजेक्टमा नेवारी समुदायको सांस्कृतिक धरोहरलाई विश्व मञ्चमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना रहेको जनाएका छन् ।
निर्देशक जोशीले यो चलचित्रलाई केवल मनोरञ्जन मात्र नभई नेवार समुदायको सांस्कृतिक धरोहर र नेपालको समृद्ध इतिहासप्रति सम्मानको रूपमा लिएका छन् । चलचित्रबारे उनले भने, “यो हाम्रो इतिहास, हाम्रो कला र हाम्रो सौन्दर्यलाई संसारभर चिनाउने प्रयास हो । चलचित्रको माध्यमबाट नेपाली संस्कृति र नेवारी परम्पराको गहिराइलाई उजागर गर्न चाहन्छु ।”
चलचित्र काठमाडौं उपत्यकाको पृष्ठभूमिमा आधारित हुनेछ, जसमा नेवारी समुदायको परम्परा, वास्तुकला, सङ्गीत र आध्यात्मिकता जीवन्त रूपमा प्रस्तुत गरिनेछ । ऐतिहासिक घटनाबाट प्रेरित यो कथा प्रेम, सङ्घर्ष र नेवारी सभ्यताको अद्भुत चित्रण गर्ने निर्देशकको कथन छ । यो चलचित्रले स्थानीय दर्शक मात्र नभई अन्तर्राष्ट्रिय दर्शकको मन जित्ने उद्देश्य राखेको छ ।
‘रेशम फिलिली’ पछाडि निर्देशक जोशीको कमब्याक हुनेछ । यो चलचित्रको छायाङ्कन सन् २०२५ को मध्यदेखि सुरु गरिने जनाइएको छ र २०२६ भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । निर्देशक जोशीले यो प्रोजेक्टलाई नेपाली चलचित्र इतिहासकै महत्त्वाकाङ्क्षी प्रयासको रूपमा हेरेको बताए ।