काठमाडौं – नेपाली तथा भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमा पहिलो पटक घरमै पुगेर सौन्दर्य सेवा दिने व्यवसायको थालनी गरेकी छन् । उनले ‘सलोन टाइम बाई आक्स मि मेडम’ नामक कम्पनीमार्फत यो सेवा सुरु गरेकी हुन् ।
काठमाडौंको कमलपोखरीमा केन्द्रित यो सेवा हालका लागि उपत्यकाभरि उपलब्ध छ । व्यस्त जीवनशैलीका महिलाहरूलाई लक्षित गर्दै गिरीले घरमै बसेर सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने व्यवस्था मिलाएकी हुन् ।
भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीका रूपमा सञ्चालित यो सेवामा हेयर कट, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो थ्रेडिङ, नेल आर्टलगायतका सेवाहरू उपलब्ध छन् । गिरीका अनुसार, ग्राहकले आफ्नो सुविधाअनुसार समय र स्थान छनोट गरी सेवा लिन सक्नेछन् ।
गिरीले आफ्नो सलूनमा ओथ्री, सारा, कस्बार जस्ता उच्च गुणस्तरीय उत्पादनहरू प्रयोग गरिने बताएकी छन् । साथै, दक्ष ब्युटीसियन र मेकअप आर्टिस्टहरूले सेवा प्रदान गर्ने उनको दाबी छ । ग्राहकले सलोन टाइमको मोबाइल एप डाउनलोड गरी आफूलाई उपयुक्त समय र सेवा छनोट गर्न सक्छन् ।
गिरीले हाललाई काठमाडौं उपत्यकामा केन्द्रित रहेको यो सेवालाई भविष्यमा जनकपुर, इटहरी र नेपालगञ्ज जस्ता अन्य सहरहरूमा पनि विस्तार गर्ने योजना बनाएको बताइन् ।