भारतीय सुपरस्टार अल्लू अर्जुनका फ्यानका लागि दुःखद खबर बाहिर आएको छ । भारतको तेलङ्गना राज्यको हैदराबादस्थित सन्ध्या थिएटरमा डिसेम्बर ४ तारिखका दिन आयोजित ‘पुष्पा २’ को प्रिमियर शोमा भएको भागदौडले एक महिलाको ज्यान गएको छ भने ९ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।
यो घटना अल्लू अर्जुनको अघोषित आगमनले निम्त्याएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । आफ्नो प्रिय अभिनेता एक झलक हेर्न चाहने भीड नियन्त्रण बाहिर जाँदा भागदौड मच्चिएको थियो । मृतक महिलाको नाम रेवती हो, जो आफ्नो पति र दुई छोराछोरीहरूसँग चलचित्र हेर्न पुगेकी थिइन् । भीडको दबाबका कारण उनी अचेत भइन् र उनलाई अस्पताल पुर्याउँदा चिकित्सकहरूले मृत घोषित गरे । उनका ९ वर्षीय छोरा श्री तेजको अवस्था हाल गम्भीर रहेको छ र अस्पतालमा राखिएको छ ।
घटनालाई गम्भीरतापूर्वक लिँदै अल्लू अर्जुन र सन्ध्या थिएटरको व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले घटनास्थलबाटै रेवती र उनका छोरालाई उद्धार गरी अस्पताल पठाएको थियो । तर, व्यवस्थापनको लापरबाही र अभिनेता अल्लू अर्जुनको अघोषित उपस्थितिले यो दुर्घटना भएको भन्दै धेरैले आलोचना गरेका छन् ।
यस घटनाबारे अल्लू अर्जुनले आफ्नो फ्यानहरूप्रति माया व्यक्त गर्दै दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, “म फ्यानहरूसँग जोडिन सधैँ उत्साहित रहन्छु, तर यस्तो दुर्घटना हुनु दुःखद हो ।”
‘पुष्पा २’ ले क्रिटिक्स र फ्यानबाट सकारात्मक प्रतिक्रिया पाउँदै फिल्मको प्रदर्शन उत्कृष्ट भइरहेको छ । नेपालमा पनि यो चलचित्रको व्यापक व्यापार भइरहेको छ ।