काठमाडौं – निरोज महर्जन निर्देशित चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सम्पन्न भएको छ । यसको छायाङ्कन काठमाडौं, पाँचखाल, बारा र चितवनमा ३५ दिन लगाएर गरिएको हो ।
२०७२ सालमा रिलिज भएको चलचित्र ‘रेशम फिलिली’को सिक्वेल भए पनि यस पटक निर्देशक र मुख्य अभिनेत्रीमा परिवर्तन गरिएको छ । पहिलो भागका अभिनेता विनय श्रेष्ठ र कामेश्वर चौरासियाले यस पटक पनि मुख्य भूमिका निभाएका छन् भने नायिकाको भूमिकामा सुपुष्पा भट्टलाई लिइएको छ ।
चलचित्रमा विनय, कामेश्वर र सुपुष्पाका साथै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर बाङ्देल, रवीन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
‘दिमाग खराब’ जस्ता सफल चलचित्र निर्माण गरेका रौनक विक्रम कडेलले यस चलचित्रलाई पनि लगानी गरेका छन् । सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माता रहेको यो चलचित्र सिनेमा आर्ट्सको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा बनेको हो ।
सुसन प्रजापतीले छायाङ्कन गरेको यस चलचित्रको पटकथा निरोज महर्जन र आकाश बरालले लेखेका हुन् भने सङ्गीतमा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइबा र दीपक शर्माले काम गरेका छन् ।