काठमाडौं – आगामी पुस १० गतेबाट छायाङ्कन सुरु हुने नेपाली चलचित्र ‘कल्ली’को कलाकारहरूको लाइनअप अझै बलियो बन्दै गएको छ । निर्माता किरण नेपालीले नायक नाजिर हुसेन र नायिका वर्षा राउतलाई फिल्ममा अनुबन्ध गरेको पुष्टि गरेका छन् । यद्यपि, उनीहरूको भूमिकाबारे भने अहिले नै खुलाइएको छैन ।
यसअघि नै चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल, बेनिशा हमाल, उत्तम प्रधान, माओत्से गुरुङ, रवीन्द्र झा, विनोद न्यौपाने र रेअर राईलगायतका कलाकारहरूको सहभागिता निश्चित भइसकेको छ ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मको छायाङ्कन निसाल पौडेलले गर्नेछन् भने सङ्गीत एसडी योगी र कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् ।