काठमाडौं – अभिनेत्री द्वय प्रियङ्का कार्की र दिया मास्केको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘ममी’ आगामी माघ २५ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । मङ्गलवार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरले फिल्मको कथावस्तुबारे थप जिज्ञासा पैदा गरेको छ ।
सार्वजनिक पोस्टरमा एउटा विशाल रुखको फेदमा बनेको घर र त्यसै रुखको आकारमा उभिएका प्रियङ्का र दियालाई देख्न सकिन्छ । प्रियङ्का गम्भीर भावमा देखिएकी छिन् भने दियाको रगतले लतपतिएको अनुहारले दर्शकलाई डरलाग्दो अनुभव दिलाउँछ ।
‘ममी’ एक रहस्यमय पारिवारिक ड्रामा हो । चलचित्रमा एक परिवारमा छोरी र कुकुरको दुखद निधनपछि रहस्यमय कालो बिरालोलाई पाल्दा निम्तिएका विपत्तिहरूलाई देखाइएको छ ।
एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा प्रियङ्का र दियासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ । समर निरौलाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र उनको डेब्यु निर्देशकीय चलचित्र हो ।
लोक राज जोशी र पूर्णिमा जोशी निर्माता हुन् भने सुमन कोइराला कार्यकारी निर्माता हुन् । शरद महतोले चलचित्रको छायाङ्कन गरेका हुन् ।