काठमाडौं – नेपालको चलचित्र उद्योगले अहिले विस्तार र सुधारको चरणमा छ । नेपालमा चलचित्रले मनोरञ्जन उद्योग, कला र सांस्कृतिक विकासको महत्त्वपूर्ण माध्यमका रूपमा संसारभर आफ्नो स्थान बनाउने क्रममा छ । नेपाली चलचित्रको घरेलु बजार यसको मेरुदण्ड हो र घरेलु बक्स अफिसको व्यापार नै मूलतः नेपाली चलचित्रको आधार हो । यसको आधारभूत संरचना भनेकै नेपालभर रहेका चलचित्र हल हुन् ।
नेपालमा कति वटा चलचित्र हलहरू सञ्चालनमा छन् ?
यो प्रश्न सबै चलचित्र प्रेमीको चासोको विषय हो । नेपालको चलचित्र क्षेत्रको सरकारी नियामक निकाय चलचित्र विकास बोर्डले हालै नेपालभरका हलहरूको सङ्ख्या सार्वजनिक गरेको छ । उक्त तथ्याङ्क अनुसार हाल नेपालमा कूल १६६ वटा हल मात्र सञ्चालनमा रहेका छन् ।
सञ्चालनमै रहेका तर केही प्रक्रियागत त्रुटि तथा हलहरूको व्यवस्थापन, अद्यावधिक सूची, र नवीकरण प्रक्रियासँग सम्बन्धित केही विवादहरू पनि समय समयमा उठ्दै आउने गरेका छन् ।
प्रदेश अनुसार असमान सङ्ख्या
देशभरका चलचित्र हलहरूको सङ्ख्यामा असमानता देखिन्छ । बागमती प्रदेशमा सबैभन्दा धेरै ६७ हल छन् भने सुदूरपश्चिम प्रदेशमा मात्र १ हल रहेको छ । यो तथ्याङ्कले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा चलचित्र प्रदर्शनको अवसर बढी रहेको देखाउँछ, जबकि दुर्गम क्षेत्रका दर्शकहरू आधुनिक चलचित्र सुविधाबाट वञ्चित छन् ।
अन्य प्रदेशहरूको स्थिति यस्तो छ:
कोसी प्रदेश: ३१ हल
मधेस प्रदेश: २६ हल
गण्डकी प्रदेश: १४ हल
लुम्बिनी प्रदेश: २४ हल
कर्णाली प्रदेश: ३ हल
यहाँ देखिएको असमानताले दर्शक पहुँचमा रहेको भौगोलिक र प्राविधिक विभाजनलाई झल्काउँछ । यो तथ्यले दुर्गम क्षेत्रमा हलहरूको सङ्ख्या बढाउन र त्यहाँ चलचित्र शिक्षाको उचित व्यवस्थापनमा राज्यले तत्काल ध्यान दिनु जरुरी छ ।
मोफसलका हलहरू र व्यापार विवाद
रेकर्ड ब्रेकर नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताहरूले मोफसलका २० हलहरूबाट प्राप्त व्यापार रिपोर्टप्रति चित्त नबुझाउँदै गत कार्तिक ३० गते चलचित्र हटाउने निर्णय गरेका थिए।
निर्माताले जारी गरेको विज्ञप्तिमा व्यापार विवादमा तानिएका हलहरूको सूची सार्वजनिक गरिएको थियो। यो सूचीमा विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिणा हल, गोरखाको गोरखा हल, बर्दिबासको बर्दिबास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपेक हल, बुटवलको द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुर्ती हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हल रहेका थिए ।
विज्ञप्ति
निर्माताको यो निर्णय पछि चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै ती हलहरूबारे गम्भीर ध्यानाकर्षण गराएको थियो । बोर्डले तीमध्ये केही हलहरूको इजाजत पत्र रद्द भइसकेको र उनीहरूले बक्स अफिस प्रणालीको बेवास्ता गर्दै म्यानुअल टिकट वितरण गरेको बताएको थियो । यसलाई प्रचलित कानुनको उल्लङ्घन भन्दै बोर्डले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६, आर्थिक ऐन, २०८१ र चलचित्र नियमावली, २०५७ अनुसार कठोर कदम चाल्ने चेतावनी दिएको थियो ।
विज्ञप्ति
यी दुवै घटनापछि चलचित्र सङ्घले ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताको कदमप्रति आक्रोश जनाएको थियो । कुनै चलचित्र प्रदर्शकले गलत व्यापार रिपोर्ट बुझाएको भए त्यसलाई प्रमाणित गर्न सङ्घले चुनौती दिँदै हचुवाको भरमा चलचित्र सङ्घका सदस्यको मानमर्दन गरेको भन्दै कडा आपत्ति जनाएको थियो ।
प्रदीपकुमार उदयको द्वारिका हल विवाद
चलचित्र विकास बोर्डद्वारा सार्वजनिक ‘सञ्चालनमा रहेका हल’ सूचीमा चलचित्र सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार उदयको बुटवलस्थित द्वारिका उदय हल समावेश नभएको विषयले थप विवाद उत्पन्न गरेको छ । नेपाली चलचित्र उद्योगका चिन्तित र पुराना व्यक्तित्वको हल सूचीबाहिर पर्नुले गम्भीर प्रश्न उठाएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूची: https://film.gov.np/notices/132