भारतीय सुपरस्टारहरू अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ले एडभान्स बुकिङमा नयाँ इतिहास रच्दै यसअघिका लोकप्रिय चलचित्रहरूलाई पछि पारेको छ । यही बिहीबार रिलिज हुने यो चलचित्रको एडभान्स बुकिङ ३० नोभेम्बर राति १२ बजेबाट सुरु भएको थियो ।
भारतीय मिडियाहरूका अनुसार, एडभान्स बुकिङको पहिलो २४ घण्टामा चलचित्रका ३ लाखभन्दा बढी टिकट बिक्री भएका छन् । भारतभरि चलचित्रले एडभान्स बुकिङबाट १२ करोड रुपैयाँ भन्दा बढीको कमाई गरिसकेको छ । यसले शाहरुख खानको ‘पठान’ र यशको ‘केजिएफ-२’ जस्ता ब्लकबस्टर चलचित्रहरूको रेकर्डलाई तोडेको छ ।
‘पुष्पा २’ को हिन्दी संस्करणमा पहिलो दिन १.८ लाख टिकट बिक्री भइसकेका छन्, जुन ‘केजिएफ-२’ का पहिलो दिनका १.२५ लाख टिकटभन्दा धेरै हो ।
भारतीय ट्रेड एनालिस्टहरूका अनुसार, ‘पुष्पा २’ ले पहिलो दिनमै घरेलु बक्स अफिसमा २०० करोड रुपैयाँभन्दा बढी कमाई गर्न सक्ने अनुमान छ । यसअघि, ‘बाहुबली 2’ र ‘केजिएफ-२’ले एडभान्स बुकिङमा क्रमशः ९० करोड र ८० करोड कमाएका थिए ।
सुकुमार निर्देशित यो चलचित्र तमिल, तेलुगु, मलयालम, कन्नड, र हिन्दी गरी पाँच भाषामा रिलिज हुनेछ । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा: द राइज’ को सफलतापछि यो चलचित्रले बलिउडदेखि दक्षिण भारतीय सिनेमा उद्योगसम्म ठुलै हलचल मच्चाएको छ ।
यो चलचित्रको नेपालको लागि पनि चलचित्र हलहरूले बुकिङ खुलाइसकेका छन् ।