काठमाडौं – नेपालको प्रतिष्ठित गहना ब्रान्ड क्लासिक डायमन्डले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । आइतबार सम्पन्न भव्य फिनालेमा पूर्णिका सिजापतिले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को ताज पहिरिएकी छन् ।
फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी घोषित भएका छन् । स्मृति श्रेष्ठले उत्कृष्ट वाकको उपाधि जित्दा सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि हात पारेकी छन् ।
विजेता पूर्णिकाले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरेकी छन् । फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरूले क्लासिक डायमन्डका विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन् ।
देशभरबाट छानिएका २६ जना प्रतिस्पर्धीलाई एक महिनाको कडा प्रशिक्षणपछि फाइनलमा उतारिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ति गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए ।
क्लासिक डायमन्डका अध्यक्ष बाबु राजा महर्जनले यो प्रतियोगिताले नेपाली फेशन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्दै आएको बताए । यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लाम र मुना गौचनजस्ता प्रतिभाहरूले यही प्रतियोगिताबाट आफ्नो करियरको सुरुवात गरेका थिए ।