काठमाडौं – मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ थप सात दिनका लागि विस्तार गरिएको छ । अब यो नाटक मङ्सिर २३ गतेसम्म मञ्चन हुनेछ ।
नाटकको मञ्चन सोमबार बाहेक हरेक साँझ ५:३० बजे र शनिवार अतिरिक्त शो दिउँसो १ बजे मण्डला थिएटर, थापागाउँ, काठमाडौंमा भइरहेको छ ।
नाटक निर्देशक केदार श्रेष्ठले दर्शकहरूको अत्यधिक माया र सद्भावका कारण मञ्चनको मिति थप गरिएको बताए । श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार भएको यस नाटकमा दयाहाङ राईको निर्माण रहेको छ । यसको प्रमुख भूमिकामा मेनुका प्रधान र कार्म शाक्यले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।
नाटकले दम्पतीको सन्तान प्राप्तिको चाहना र त्यससँग आउने जटिलतालाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ । नाटकको मञ्चमा विशाल वरपीपलको संयुक्त स्वरूपको रूख देख्न सकिन्छ, जसले सृष्टिको लागि दुई गुणको मिलनलाई प्रतीकात्मक रूपमा दर्साउँछ ।
यस नाटकले मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा मार्मिक रूपमा प्रस्तुत गरेको छ । यस नाटकले दर्शकहरूको मन जित्न सफल भएको छ । नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ गत कार्तिक २४ गते देखि मण्डला थिएटरमा मञ्चन सुरु भएको थियो । सुरुमा यो नाटक मङ्सिर १६ गते सम्म मञ्चन हुने तय गरिएको थियो ।