काठमाडौं – नेपाली चलचित्र ‘शाम्बाला’ले नेपाली चलचित्रको इतिहासमा पहिलो पटक एसिया प्यासिफिक स्क्रिन अवार्ड्स मा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ प्राप्त गरेको छ । प्रतिष्ठाको आधारमा यो अवार्डलाई ‘एसियन अस्कर’को रूपमा पनि व्याख्या गरिन्छ ।
अस्ट्रेलियामा आयोजित भव्य समारोहमा निर्देशक मीनबहादुर भामले यो प्रतिष्ठित पुरस्कार ग्रहण गरेका हुन् । पुरस्कार प्राप्त गरेपछि उनले खुसी व्यक्त गर्दै यसबारेमा जानकारी गराएका छन् ।
‘शाम्बाला’ले कर्णाली प्रदेशको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको यथार्थपरक चित्रण गरेको छ । एक गर्भवती महिलाको जीवन केन्द्रित यो चलचित्रले उनको पति व्यापारका लागि ल्हासा गएपछि भोग्नुपरेको पीडा र दोस्रो पतिसँग गरेको कठिन यात्रालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
‘शाम्बाला’ले विश्वभरका विभिन्न चलचित्र महोत्सवहरूमा नेपालको झन्डा फहराउँदै आएको छ । यो चलचित्र बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट हुने पहिलो नेपाली फिचर चलचित्र हो । त्यसैगरी, चलचित्रले स्वीट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा पनि सहभागिता जनाएको थियो । यसका साथै, ‘शाम्बाला’ नेपालबाट ९७औं अस्करअवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र प्रतिस्पर्धाका लागि छनोट भएको थियो ।
‘शाम्बाला’ २०८१ भदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमा आएको थियो ।