काठमाडौं – नेपाली चलचित्र उद्योगमा नयाँ इतिहास रचेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले विश्वव्यापी बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो सातासम्म आइपुग्दा यस चलचित्रले देश तथा विदेशमा गरी करिब ७० करोड रुपैयाँको व्यापार गरिसकेको बताइएको छ ।
नेपालभित्र चलचित्रले १४ मङ्सिरसम्म ४५ करोड ७४ लाख रुपैयाँ ग्रस कमाइसकेको छ । यद्यपि, चौथो साताको कमाइमा केही कमी आएको छ । पछिल्लो चार दिनमा चलचित्रले २ करोड ३४ लाख रुपैयाँ मात्र ग्रस गरेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण यस चलचित्रले यो साता पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
विदेशी बजारमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ ले उत्तिकै सफलता पाएको छ । २९ नोभेम्बरसम्म चलचित्रले विदेशी बजारबाट करिब २३ करोड ३५ लाख रुपैयाँ (करिब १७ लाख ३० हजार अमेरिकी डलर) ग्रस कमाइसकेको छ । अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, मध्यपूर्वलगायतका देशहरूमा चलचित्रले दर्शकको मन जित्न सफल भएको छ ।
चलचित्र प्रदर्शन जारी रहेकाले आगामी दिनमा यसको कमाइमा अझै वृद्धि हुने अनुमान गरिएको छ । यस चलचित्रको सफलताले नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको सङ्केत गरेको छ ।