काठमाडौं – टिकटकबाट उदाएर म्युजिक भिडियोमा आफ्नो बलियो उपस्थिति बनाएकी गरिमा शर्मा अब पहिलो पटक नेपाली चलचित्रमा प्रमुख अभिनेत्रीको रूपमा प्रस्तुत हुने पक्का भएको छ । ‘लन्डन टू पेरिस’ र ‘ह्रस्व दीर्घ’ जस्ता चलचित्रहरूमा सहायक भूमिकामा अभिनय गरेकी उनी नयाँ चलचित्र ‘जन्ते बाख्रो’ मा प्रमुख भूमिकामा अनुबन्धित भएकी छन् ।
शुक्रवार निर्मातासँगको कागजी सम्झौता गर्दै गरिमाले यो खबर सार्वजनिक गरेकी हुन् । यो चलचित्रमा गरिमा अडिसनमार्फत छनोट भएको बताइएको छ । यसमा उनी अभिनेता द्वय सौगात मल्ल र आसिफ शाहसँग जोडी बाँधेर पर्दामा देखिनेछिन् ।
मुख्य भूमिकामा अवसर पाएपछि गरिमा निकै उत्साहित छिन् र यसलाई आफ्नो करिअरको ठूलो उपलब्धि मानेकी छन् ।‘जन्ते बाख्रो’ को निर्देशन सिमोस सुनुवारले गर्नेछन् । प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्र कमेडी कथावस्तुमा निर्माण हुँदैछ ।