काठमाडौं – लोकप्रिय गायक बद्री पङ्गेनीकी छोरी बिहानी पङ्गेनीले अभिनयमा डेब्यु गरेकी छन् । उनले हालै सार्वजनिक भएको १६ मिनेट लामो साङ्गीतिक चलचित्र ‘कन्या राशि’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् । यो चलचित्रले हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम कथा मार्फत धार्मिक र सामाजिक भ्रातृत्व तथा सहिष्णुताको सन्देश दिन खोजेको छ ।
बिहानी पङ्गेनी हाल एलएलबी अध्ययनरत छिन् र राजनीतिमा पनि सक्रिय छिन् । सत्तारूढ दल एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्य रहेकी बिहानीले यो गीत सार्वजनिक भएपछि प्रशंसा पाइरहेकी छन् ।
‘कन्या राशि’ गीत बद्री पङ्गेनीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बद्री पङ्गेनी र समीक्षा अधिकारीको स्वर रहेको छ भने बद्री पङ्गेनी स्वयंले निर्देशन गरेका छन् । गीतको शब्द नारायण ज्ञवालीले लेखेका हुन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् ।
बद्री पङ्गेनी नेपाली लोकदोहोरी सङ्गीतमा स्थापित नाम हो । पङ्गेनीले २०५५ सालमा पहिलो एल्बम ‘तानसेन खस्यौली’ सार्वजनिक गरेका थिए । उनका ‘पिएन क्याम्पस’, ‘ब्युटी नम्बर वान’, ‘ससुरालीमा’ जस्ता एल्बमहरू लोकप्रिय छन् । विशेष गरी ‘ससुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ गीतले उनलाई सर्वाधिक चर्चामा ल्याएको थियो ।
गीत: