काठमाडौं – नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले आफ्नो २०२४ संस्करणको ‘लाइनअप’ सार्वजनिक गरेको छ । बुधवार जारी सूचीमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोट भएको आयोजकले जनाएको छ । महोत्सवमा डकुमेन्ट्री, शर्ट, एनिमेसन, र फिक्सन विधाका चलचित्र समेटिएका छन् ।
विशेष आकर्षणमा कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जितेको पायल कपडियाको ‘अल वी इमाजिन एज लाइट,’ बर्लिन फिल्म फेस्टिभलमा पुरस्कृत सर्ट चलचित्र ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’ र ‘एन आउटरन,’ साथै ‘अनार दाना’ र ‘ओटिट’ जस्ता चर्चित चलचित्र छन् । अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’सहित ९ वृत्तचित्र छनोट भएका छन् ।
सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शन गर्दै आएको छ । महोत्सवसँगै केन्द्रले विभिन्न अन्तरक्रिया र गोष्ठीमार्फत मानव अधिकारको पैरवी गर्ने कार्यलाई पनि निरन्तरता दिएको छ ।