काठमाडौं – शिल्पा केसीद्वारा निर्देशित लघु चलचित्र’दसैँ आयो’ ले अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित ‘दोस्रो युवा लघु चलचित्र प्रतिस्पर्धा’मा प्रथम स्थान हासिल गर्दै १ लाख नगद पुरस्कार जितेको छ ।
प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ द्वितीय स्थानमा रहँदै ५० हजार नगद पुरस्कार प्राप्त गर्यो भने विशाल झाको ‘अन्तिम यात्रा’ ले तृतीय स्थानमा रहँदै २५ हजार नगद पुरस्कार जित्यो । साथै, देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ ले स्पेसल मेन्सन अवार्ड जित्न सफल भयो ।
पुरस्कार घोषणाअघि अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो । २० वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रतिस्पर्धाका लागि सहभागीहरूले ८ देखि १५ मिनेटसम्मको फिल्म निर्माण गर्नुपर्ने नियम तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालका अनुसार, प्रतियोगिताका लागि २० भन्दा बढी चलचित्र प्राप्त भएका थिए, जसबाट उत्कृष्ट ९ फिल्महरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएका थिए । उनले यो प्रतियोगिता उदीयमान प्रतिभाहरूको पहिचान र प्रोत्साहनका लागि निरन्तर आयोजना गरिने बताए ।
प्रधानाध्यापक दाहालले भने, “फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सृजनशील हुने भएकाले हामीले युवालक्षित चलचित्र निर्माण प्रतिस्पर्धा आयोजना गरेका हौँ । यसले उनीहरूलाई फिल्म निर्माणका अवसर र प्रोत्साहन प्रदान गर्न मद्दत पुर्याउँछ । युवा फिल्ममेकरहरूमा विश्वास र लगानी गर्दा नेपाली चलचित्र क्षेत्रमा अर्को पुस्ता तयार हुनेछ ।
प्रतियोगिताका विजेता फिल्ममेकरहरूले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति पाउने अवसरसमेत प्राप्त गरेका छन् ।