काठमाडौं – नयाँ बानेश्वरस्थित छक्कुबक्कुमार्गमा ‘इनस्टाइल ब्युटी हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । हालै मात्र अभिनेत्री रेखा थापाले सोमबार यस ब्युटी सलोनको उद्घाटन गरेकी हुन् । यसलाई दुबईमा एक दशकभन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले सञ्चालनमा ल्याएकी हुन् ।
उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक टिकाराम ढकाल, कल्याण, पुनर्स्थापना तथा सञ्चार शाखाका निर्देशक सुशील प्रसाद आचार्य, र माला ब्युटी असेसर्स एसोसिएसन नेपालकी अध्यक्ष बिमला रिजाल उपस्थित थिए ।
कार्यक्रममा नायिका रेखा थापासँगै ‘मिसेज नेपाल वर्ल्ड २०२४’ की विजेता डा. डेनिला कार्की, ‘मिसेज नेपाल इन्टरनेशनल’ सुयशा राउत, ‘एमएस नेपाल इन्टरनेशनल’ रेश्मा घिमिरे, र ‘मिसेज नेपाल वर्ल्ड’ की आयोजक निशु झा तथा अश्विन झा सहभागी थिए ।
यस्तै, कार्यक्रममा नायिका गजित बिस्ट, निर्देशक सौगात बिस्ट, कलाकार सुबोध गौतम र कुमार कार्कीको पनि उपस्थिति थियो । कार्यक्रममा रेखा थापाले भनिन्, “मेकअपले मानिसलाई थप ऊर्जा दिन्छ। पछिल्लो समय महिलाहरू सौन्दर्यप्रति सचेत भएका छन्, जुन सकारात्मक कुरा हो ।”
महिला र पुरुष दुबैका लागि लक्षित गरिएको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक लक्ष्मी तामाङले विदेशमा सिकेका ज्ञान र सीप स्वदेशमै उपयोग गर्ने लक्ष्यसहित यो सलोन सुरु गरेको बताइन् । मेकअप सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय तालिम लिइसकेकी तामाङले, “इनस्टाइल ब्युटी हबले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरयुक्त सेवा प्रदान गर्नेछ,” बताइन् । उनका अनुसार, प्रयोग गरिने सामग्रीहरू विश्वविख्यात ब्रान्डका हुनेछन् ।
इनस्टाइल ब्युटी हबले उद्घाटन अवसरमा आफ्ना सेवाहरूमा २५ प्रतिशत छुटको अफर ल्याएको छ भने मेकअप तालिममा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । साथै, वार्षिक रूपमा ५ जनालाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने योजना पनि सार्वजनिक गरिएको छ। हाल यस सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको छ ।