विजयरत्न तुलाधर । नेपालको चलचित्र ईतिहासमा प्रकाश थापालाई व्यावसायिक चलचित्रका प्रणेता मानिन्छ । उनको खरो स्वभाव र कडा मिजासको कारणले उनलाई बाघ निर्देशक पनि भन्ने गरिन्थ्यो । उनी मूलतः चलचित्र निर्देशक थिए तर हरेक विधामा उनको राम्रो दखल थियो । उनी एक कुशल अभिनेता पनि थिए । वास्तवमा उनको चलचित्र यात्रा नै अभिनयबाट आरम्भ भएको थियो । स्व.प्रकाश थापा आफ्ना चलचित्र आफु स्वयं लेख्ने गर्दथे । यस्ता अभुतपूर्व व्यक्तित्वका धनी प्रकाश थापा यो संसारबाट विलिन भएको पनि सात वर्ष पुरा गरी आठौं वर्ष लाग्दैछ । आजभन्दा ठीक १० वर्ष अगाडि २०६१ जेठ १३ को सुर्योदय हुनु पुर्व नै वीर अस्पतालको शैय्याबाट अन्तिम सास लिई सर्जक प्रकाश थापा चलचित्रको आकाशबाट अस्ताए पनि उनी ध्रुवताराका रुपमा चम्कीरहेका छन् । वास्तवमा उनी अमर भएका छन् ।
उनी विनाको आठ वर्षको यो रिक्तता कति दुरुहपुर्ण रह्यो भन्ने कुरालाई यो अन्तरालमा बनेका चलचित्रहरु हेर्दा प्रष्टै देखिन्छ । वि.सं. १९८७ असार ४ गतेका दिन धनकुटाको मुगा गाउँमा माता कर्णकुमारी र पिता उदिपसिंह थापाको कोखबाट जन्मेका प्रकाश थापा आफ्नो कर्म खोज्न सन् १९५६ तिर भारतको देहरादून पुगे । त्यहाँ उनको संगत शशी शमशेर र रवि शमशेरसँग भयो । उनीहरु त्यहाँ नाटक गर्दथे । त्यहीं नाटकमा प्रकाश थापाले पनि भाग लिए । रङ्गयात्रामा उनको पहिलो पाइला त्यही नै थियो ।
अभिनयको यो जोशलाई शान्त पार्न भारतको फिल्म नगरी बम्बई संघर्ष गर्न पुगेका प्रकाश थापाले सन् १९५८ मा “सावित्रि” शिर्षकको हिन्दी चलचित्रमा खेल्ने अवसर पाए । त्यस पछि त्यहाँका स्टार जितेन्द्रसंग उनको मित्रता बढ्यो । जितेन्द्रले उनलाई आफू हिरो भएका चलचित्रहरु सुहाग रात, फर्ज मेरे हमसफरमा अभिनय गर्ने अवसर दिलाए । प्रकाश थापाले त्यहाँ तत्कालिन सुपर स्टार राजेश खन्नाको “आन मिलो सजना” र सुप्रसिद्ध अभिनेता अमिताभ बच्चनको पहिलो चलचित्र “सात हिन्दुस्तानी”मा पनि अभिनय गरे । दुई दशकभन्दा लामो समय व्यतीत गरीसक्दा पनि अभिनय क्षेत्रमा केहि प्रगती गर्न नसक्दा अर्काको देशमा बसेर आफ्नो कला प्रतिको ईच्छा पुरा नहुने देखेर उनले नेपालमा आइ “मेरो देश” नामक चलचित्र बनाउने योजना बनाए । तर त्यो योजना पुरा हुन पाएन । त्यसपछि तत्कालिन शाही नेपाल चलचित्र संस्थानको लागि “मनको बाँध”का निर्देशकका रुपमा आˆनो चलचित्र यात्रा आरम्भ गरे ।
प्रकाश थापाले निर्देशन गरेको “सिन्दुर”लाई नेपाली चलचित्र जगतमा व्यावसायिक सफलताको मानकका रुपमा लिने गरीन्छ । नेपाली चलचित्रको व्यावसायिक सफलताको यात्राको शुरुआत नै यहि चलचित्रबाट भएको थियो । आˆनो प्रर्दशनको २५ हप्ता पुरा गरेको पहिलो नेपाली चलचित्र “सिन्दुर” नै थियो । फिल्मी भाषामा यसलाई सिल्भर जुब्ली
पार गरेको भन्ने चलन छ । तर यो चलचित्रले सिल्भर जुब्लीको कुनै औपचारिक समारोह भने आयोजना भने गरेको देखिंदैन । यो चलचित्र जय नेपाल हलमा २०३६ मंसीर १० गते प्रर्दशन आरम्भ भई २०३७ जेठ ४ गते सम्म लगातार २७ हप्ता प्रदर्शन गरिएको थियो ।
जीवन रेखा, सन्तान, कन्यादान, अधिकार जस्ता सफलतम् चलचित्र निर्देशन गरेका प्रकाश थापाले पछि चलचित्र निर्माणमा पनि हात हालेका थिए । उनले निर्माण गरेको एउटै मात्र चलचित्र “महामाया” ले दर्शकको मन भने जित्न सकेन । उनको अन्तिम चलचित्र “नाता रगतको” हो । आˆनो जीवनको अन्तिम क्षणमा पनि उनी “बदेनी” को कथामा चलचित्र बनाउने योजना बुन्दै थिए । तर उनको यो अन्तिम ईच्छा भने पुरा हुन सकेन । एउटा कुशल अभिनेताका रुपमा समेत चिनिने प्रकाश थापा आफुले निर्देशन गरेका चलचित्रहरु “सिन्दुर” र “जीवन रेखा”मा सशक्त भुमिकामा देखापरे भने आफुले निर्देशन गरेका चलचित्र बाहेक “जाली रुमाल” मा पनि एक अभिनेताका रुपमा देखापरेका थिए । अनुशासनमा कडा अनि स्वभावमा पनि कडा भएकोले गर्दा उनको सामु सित्तिमिति बोल्न डराउँथे र उनको यहि मिजासको कारणले उनलाई बाघ भनेर भन्थे । जसरी बाघले खान पाएन भन्दैमा घाँस खाँदैन त्यसरी नै प्रकाश थापाले आˆनो तीन दशकको चलचित्र यात्रामा कहिल्यै समझौता गरेनन् ।
थुप्रै पदक, पुरस्कार र विभुषणबाट अलंकृत अप्रतिम् व्यक्तित्व निर्देशक प्रकाश थापाले छोडेर गएको नेपाली चलचित्र जगतले संधैं नै प्रकाश थापाको अभाव महसुस गर्दै आईरहेको छ । यो अनुभुति नै वास्तवमा उनी प्रतिको श्रद्धाञ्जली हो अनि उनी सदैव सम्झनामा आईरहने अमर स्रष्टा हुन् भन्ने कुराको प्रमाण हो ।