काठमाडौं – चलचित्र विकास बोर्डले राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’ समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगको प्रगति, यसको महत्त्व, र आगामी सम्भावनाहरूलाई केलाउँदै आफ्नो मन्तव्य प्रस्तुत गरे । उनले नेपाली चलचित्रकर्मीहरूको अथक प्रयास र योगदानको कदर गर्दै यो क्षेत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली उपस्थिति जनाउन थालेको विषयमा विशेष जोड दिए ।
राष्ट्रपति पौडेलले नेपाली चलचित्रले पछिल्लो समय कथावस्तुमा सुधार र व्यावसायिक सफलताको दुवै पाटोमा महत्त्वपूर्ण प्रगति गरेको महसुस गरेको बताए । हाल नेपाली चलचित्रमा देखिएको मौलिकताको खोजी र विषयवस्तुको गहिराइमा चासो देखाउँदै पौडेलले भने, “व्यावसायिक सफलता र कथावस्तुमा आएको शैलीगत विशेषताले नायकत्व भन्दा कथाका विषयवस्तुको चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको प्रतीत हुन्छ ।”
राष्ट्रपति पौडेलले चलचित्रलाई नेपाली भाषा, संस्कृति, र परम्पराको जगेर्ना गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेपाली चलचित्रले देशको सांस्कृतिक धरोहरलाई सुरक्षित राख्दै विश्व मञ्चमा पुर्याउन सक्ने सम्भावना रहेकोतर्फ इङ्गित गरे । “गाउँ समाजका ससाना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गर्न नेपाली चलचित्रले थप मेहनत गर्नेछ भन्ने मैले अपेक्षा गरेको छु,” पौडेलको भनाई थियो ।
नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिलाई पर्दामा उतारेर विदेशी दर्शकलाई आकर्षित गर्न सकिने सम्भावनामा टेक्दै पौडेलले चलचित्र र पर्यटन उद्योगको सहकार्यलाई उनले अझ सशक्त बनाउनुपर्ने आवश्यकता पनि औँल्याए । चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न सबै कला प्रेमीलाई आह्वान गरे ।
राष्ट्रपतिले चलचित्रलाई चेतना र शिक्षाको माध्यमका रूपमा पनि परिभाषित गरे । उनले चलचित्रले नैतिक शिक्षा, सामाजिक न्याय, र सकारात्मक परिवर्तनको सन्देश दिनुपर्नेमा जोड दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन चलचित्रकर्मीको ध्यान सामाजिक न्याय र नैतिक शिक्षाका सन्देश दिने चलचित्र निर्माणतर्फ जानुपर्ने जनाए । पौडेलको अभिव्यक्ति चलचित्रलाई मनोरञ्जनको साधन मात्र नभई समाज सुधारको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिने तर्फ केन्द्रित रह्यो ।
चलचित्र उद्योगमा देखा पर्ने विकृति र विसङ्गतिहरूलाई रोक्न नियामक निकायहरूको सक्रिय भूमिका आवश्यक रहेको राष्ट्रपतिले उल्लेख गरे । चलचित्र र मनोरञ्जन क्षेत्रमा देखा पर्ने विकृति र विसङ्गतिलाई नियमन गर्न चलचित्र विकास बोर्ड लगायतका निकायहरूले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै नयाँ प्रतिभाशाली युवालाई अवसर दिने र राम्रो सिर्जनालाई प्रोत्साहन गर्ने आवश्यकतामा जोड दिए ।
चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’ मा वि.सं. २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रहरूको प्रतिस्पर्धामा उत्कृष्ट १० विधाका विजेताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे ।
उत्कृष्ट चलचित्रको रूपमा ‘बुलाकी’ सम्मानित भयो, भने सर्वश्रेष्ठ अभिनेता र अभिनेत्रीको उपाधि क्रमशः विपिन कार्की (प्रसाद २) र स्वस्तिमा खड्का (दिमाग खराब) ले प्राप्त गरे । उत्कृष्ट निर्देशकको रूपमा निश्चल बस्नेत (दिमाग खराब), उत्कृष्ट सम्पादक मित्र डी गुरुङ (महाजात्रा), उत्कृष्ट छायाकार शिव ढकाल (बुलाकी), र उत्कृष्ट लेखनका लागि राजबहादुर साने (बुलाकी) पुरस्कृत भए। आदिवासी मातृभाषी चलचित्र विधामा लोजिमा (लिम्बु भाषा) उत्कृष्ट ठहरियो ।
निर्णायक समिति प्रोत्साहन पुरस्कार अन्तर्गत स्वस्तिमा कार्की (टुल्की) लाई अभिनेत्रीको रूपमा र व्यावसायिक चलचित्रका लागि जारी लाई सम्मान गरियो ।
विशेष योगदान सम्मानमा कलाकार तैय्यव शाह, कृष्ण प्रसाद रायमाझी (प्रदर्शक), नारायण प्रधान (द्वन्द्व निर्देशक), विद्या कार्की (कलाकार), नरेन्द्र महर्जन (प्रदर्शक), नन्द किशोर प्रसाद श्रीवास्तव (कलाकार/निर्माता), भोज बहादुर गुरुङ (निर्देशक/निर्माता), अमुल कार्की ढली (सङ्गीत संयोजक), ध्रुव कुमार श्रेष्ठ (प्रदर्शक), बुद्धि तामाङ (कलाकार), र सबिता गुरुङ (कलाकार) सम्मानित भए । विशेष योगदान सम्मानबाट स्व. सुरेन्द्रमान तुलाधरलाई मरणोपरान्त सम्मान प्रदान गरियो ।
विशेष चलचित्र पुरस्कार सतीदेवी, सुगुप (लिम्बु भाषा), र मार्कली (गुरुङ भाषा) चलचित्रलाई प्रदान गरियो ।
चलचित्र दीर्घ साधना सम्मान नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई प्रदान गरिएको छ ।