काठमाडौं – नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘ह्रस्व दीर्घ’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । बिहीबारदेखि यो चलचित्र अस्ट्रेलियाका प्रमुख सहरहरूमा प्रदर्शन हुनेछ । युनाइटेड सिनेमाज र भिलेज सिनेमाजद्वारा अस्ट्रेलियाव्यापी चलचित्र रिलिज हुने भएको हो ।
यो चलचित्रले नेपालमा दोस्रो हप्तासम्म पनि उत्साहजनक व्यापार गरिरहेको छ । अभिनेत्री तथा निर्मात्री निता ढुङ्गानाले चलचित्र नेपालमा दर्शकबाट अत्यधिक माया पाएको र यसकै कारण विदेशमा यसको माग बढेको बताइन् ।
चलचित्रको अस्ट्रेलिया प्रदर्शनका क्रममा अभिनेत्री ढुङ्गाना सहितको टिम स्थानीय दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न विभिन्न स्थानहरूमा उपस्थिति जनाउँदै छ । निता फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् ।
चलचित्रमा हरिहर अधिकारी, निता ढुङ्गाना, ब्रह्मानन्दम, अलि, कबिर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय समावेश छ ।
चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका हुन् । यो उनको पहिलो नेपाली चलचित्रको निर्देशन हो । यसअघि उनी भोजपुरी चलचित्रको निर्देशन र करिब ५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा ख्याति कमाइसकेका छन् ।
अभिनेता हरिहर अधिकारीको कथामा आधारित यस चलचित्रको पटकथा र संवाद प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीले तयार पारेका हुन् । चलचित्रको छायाङ्कन बलिउडका चर्चित सिनेमाटोग्राफर कबिर लालले गरेका हुन् ।