काठमाडौं – कीर्तिमानी नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का प्रमुख अभिनेता विजय बरालले अर्को चलचित्र ‘लाज शरणम्’को छायाङ्कन सुरु गरेका छन् । फागुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शन गर्ने लक्ष्य राखिएको यस चलचित्रको दोस्रो चरणको छायाङ्कन काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा भइरहेको छ । पहिलो चरणमा डोल्पाको ठूलीभेरी नगरपालिकाको दूरगाउँमा छायाङ्कन गरिएको थियो ।
‘लाज शरणम्’लाई चर्चित हास्य टेलिशृङ्खला ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल (जिग्री)ले निर्देशन गरिरहेका छन् । चलचित्रमा ‘सक्किगोनी’का कलाकारहरू अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायतको अभिनय रहेको छ । यसका अतिरिक्त मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु लगायतका कलाकारहरूको पनि सहभागिता छ ।
चलचित्रको ९५ प्रतिशत छायाङ्कन पूरा भइसकेको जनाइएको छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रूपमा रहेका छन् ।
को हुन् विजय बराल ?
फराकिलो परिचय भएका विजय बराल नेपाली चलचित्र र रङ्गमञ्चका एक ख्यातिप्राप्त अभिनेता हुन् । करिब दुई दर्जन चलचित्रमा अभिनय गरेका बरालको पछिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हो, जुन नेपाली चलचित्रको इतिहासमा सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ र हाल प्रदर्शनकै क्रममा रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार यो चलचित्रले हालसम्म ४० करोड माथिको ग्रस व्यापार गरिसकेको छ । नेपाल बाहिर पनि यो चलचित्रले उल्लेखनीय व्यापार गरेको छ । यसमा उनले मुख्य पात्र ‘पूर्ण बहादुर गन्धर्व’को भूमिका निभाएका छन्, जसमा उनले गम्भीर र संवेदनशील अभिनय प्रस्तुत गरेका छन् ।
बरालले सन् २०१३ मा चलचित्र ‘छड्के’बाट अभिनय यात्रा सुरु गरेका थिए । उनले सन् २०१४ मा ‘कबड्डी’ चलचित्रमा बि.के.को भूमिकामा अभिनय गरे, जसले उनलाई व्यापक पहिचान दिलायो। त्यसपछि ‘कबड्डी कबड्डी,’ ‘कबड्डी कबड्डी कबड्डी,’ र ‘कबड्डी ४: द फाइनल म्याच’ जस्ता सिक्वेलहरूमा सोही भूमिकामा अभिनय गरे । सन् २०२३ मा रिलिज भएको चलचित्र ‘जारी’मा उनले मङ्गल सिंहको भूमिका निर्वाह गरे भने ‘दिमाग खराब’ चलचित्रमा बलेको चरित्र पनि स्मरणीय रह्यो । बरालले सन् २००९ बाट रङ्गमञ्चमा अभिनय यात्रा थालेका थिए ।