लेखक लामिछानेद्वारा ‘पूर्ण बहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको उजुरी दर्ता



काठमाडौं – ‘लाज’ लघु चलचित्रका लेखक अजित लामिछानेले ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै उजुरी दर्ता गरेका छन् । उनले मङ्सिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गराएका हुन् । लामिछानेले ‘लाज’ चलचित्रको कथा सार र केही प्लटलाई तोडमोड गरी नियतवश चोरी गरिएको दाबी गरेका छन् ।

प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको निवेदनमा “बौद्धिक सम्पत्ति चोरिएको सम्बन्धमा” विषय उल्लेख गरिएको छ । उजुरीमा भनिएको छ, “दुई वर्षअघि मैले ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को कथा, पटकथा र संवाद सुनाएको थिएँ । उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङलाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल पठाइएको थियो । साथै, दुई चरणमा फिल्म निर्माण सम्बन्धमा छलफल पनि भएको थियो ।”

लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएको दाबी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल र अन्य सम्बन्धित व्यक्तिहरूको छानबिन गरी सृजनामाथि प्रतिलिपि अधिकार हनन् हुनबाट जोगाउन आग्रह गरेका छन् । उनले दोषीमाथि कानूनी कारबाहीको मागसमेत गरेका छन् ।

केही दिनअघि लामिछानेले फेसबुकमार्फत पनि आफ्नो असन्तुष्टि प्रकट गर्दै ‘लाज’को कथा सार र प्लट ‘पूर्ण बहादुरको सारङ्गी’मा चोरिएको आरोप लगाएका थिए । उनका अनुसार ‘लाज’ पनि बाबु-छोराको कथामा आधारित छ, जसले ‘पूर्ण बहादुरको सारङ्गी’सँग ठ्याक्कै मेल खान्छ ।

हेर्नुहोस् निवेदन:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu