काठमाडौं – आगामी माघ पहिलो साता काठमाडौंमा आयोजना हुने १३औँ ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ का लागि आयोजकले चलचित्र, टेली चलचित्र र लघु चलचित्र समावेश गर्न आह्वान गरेको छ । यस महोत्सवमा सहभागिताका लागि दुई महिना अघि नै फारम खुला गरिएको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा महोत्सव हुने भएको हो । आयोजकका अनुसार महोत्सवका लागि विभिन्न चलचित्र धमाधम प्राप्त भइरहेका छन् ।
यस वर्षदेखि महोत्सवमा अफ्रिकासँगै अन्य अन्तर्राष्ट्रिय समूहका चलचित्र पनि समावेश गरिने भएको छ । विशेष गरी अफ्रिकन चलचित्रलाई महत्त्वका साथ प्रदर्शन र पुरस्कृत गरिने भए पनि विश्वका उत्कृष्ट चलचित्रहरू पनि प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा सहभागी हुन इच्छुक चलचित्र निर्माताहरूले डिसेम्बर अन्तिमसम्म आफ्नो चलचित्र समावेश गराउन सक्नेछन् । सहभागिता फारम FilmFreeway.com, इमेल, वा प्रत्यक्ष आयोजकको कार्यालयमा सम्पर्क गरेर उपलब्ध गराउन सकिनेछ । महोत्सवमा नेपाली, आदिवासी चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा विद्यार्थीहरूले बनाएका छोटा चलचित्र पनि समावेश गरिनेछ ।
महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रका अनुसार महोत्सवले नेपाल र अफ्रिकाबीचको सांस्कृतिक आदान-प्रदानलाई मजबुत बनाउँदै आएको छ । उनले भनिन्, “हामीले दुई फरक महादेशलाई चलचित्रका माध्यमबाट जोड्न यो महोत्सवलाई निरन्तरता दिँदै आएका छौँ । अफ्रिकालाई अफ्रिकन दृष्टिकोणबाट हेर्नुपर्ने हाम्रो मुख्य उद्देश्य हो ।”
महोत्सवका निर्देशक डब्बु क्षेत्रीका अनुसार, १४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव कोभिड महामारीका कारण एक वर्ष रोकिएको थियो । यस पटक महोत्सवलाई तीन दिनसम्म सञ्चालन गरिने र नेपालसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूको उपस्थिति रहने उनले बताए । महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न कार्यशाला, नेपाली चलचित्रबारे अन्तरक्रिया, र अन्य रोचक कार्यक्रमहरू आयोजना गरिने उनले जनाए ।