काठमाडौं – नेपाली सङ्गीत र फेसनलाई प्रोत्साहन गर्ने दुई अवार्डहरू ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२४’ र ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड–२०२५’का आवेदन फारम खुला गरिएको छ ।
पाँचौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२४’का लागि आवेदन फारम खुला गरिएको हो । यो अवार्ड, जो नेपाली सङ्गीत र फेसनलाई प्रोत्साहित गर्नका लागि २०१८ मा घोषणा गरिएको थियो, यस पटक नेपालबाहिर थाइल्यान्डको राजधानी बैंककमा आयोजना गर्ने तयारी भइरहेको छ ।
आयोजक संस्था स्टार इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै अवार्डमा सहभागी हुन चाहनेले २०८० असारदेखि २०८१ कार्तिक मसान्तसम्म सार्वजनिक भएका गीत, सङ्गीत र म्युजिक भिडियो फारम भर्न सक्ने जनाएको छ । गीत सङ्गीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोकदोहोरी, चलचित्र, भजनजस्ता विधाका साथै भासाभासी र भेग विशेषका गीतहरूले अवार्डमा सहभागिता जनाउन सक्नेछन् ।
फेसन विधामा कोरियोग्राफर, मोडल, फेसन डिजाइनर, मेकअप आर्टिस्ट, फेसन शो आयोजक, र अन्तर्राष्ट्रिय फेसन पेजेन्ट विजेताले प्रतिस्पर्धा गर्न सक्नेछन् । साथै, सङ्गीत, मोडलिङ र फेसनमा योगदान पुर्याएका व्यक्तिहरूलाई ‘आजीवन योगदान सम्मान’ प्रदान गरिने कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिए ।
यस्तै, विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड’को आठौँ संस्करणका लागि पनि आवेदन खुला गरिएको छ । कार्यक्रम संयोजक कमला जोशीका अनुसार, यो अवार्डले नेपालका विभिन्न भासाभासीका गीत–सङ्गीतलाई विशेष प्राथमिकताका साथ समेट्दै आएको छ । यस पटक पनि काँठे भाका, देउडा, तामाङ, मैथिली, भोजपुरीलगायत विविध भाषाका गीतहरूलाई समावेश गरिने आयोजकले जनाएको छ ।
२०२४ जनवरी १ देखि २०२४ डिसेम्बर ३० भित्र सार्वजनिक भएका गीत र म्युजिक भिडियोलाई आवेदन गर्न सकिनेछ । आवेदन दर्ताको अन्तिम मिति पुस २० तोकिएको छ ।