काठमाडौं – अभिनयमा रुचि राख्ने प्रतिभाहरूलाई लक्षित गर्दै रियालिटी शो ‘एक्टिङ स्टार’का लागि केही महिना अघि सुरु गरिएको डिजिटल अडिसनमा हालसम्म ५०० भन्दा बढीले भिडियो पठाएका छन् । कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले यसबारे जानकारी गराउँदै, डिजिटल अडिसनबाट छनोटमा परेकाहरूलाई उनीहरूको गाउँ–ठाउँमै पुगेर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाएको छ।
डिजिटल अडिसनमा बाल कलाकारदेखि वृद्धसम्मका व्यक्तिहरूको सहभागिता रहेको आयोजकले बताएको छ । यी भिडियोहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने २४ जनालाई फिजिकल अडिसन मार्फत छनोट गरिनेछ । त्यसपछि मुख्य प्रतियोगिता सुरु हुनेछ ।
अभिनय प्रतिभालाई उजागर गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यो शोको निर्देशन विशाल भण्डारीले गर्नेछन् । शोका जज र प्रसारण टिभी च्यानलको नाम केही दिनमै सार्वजनिक गरिने बताइएको छ ।