‘सुम्निमा पारुहाङ साँझ’मा हजारौँ दर्शकको उत्साह, सबिन, पूर्ण र जोनको अविस्मरणीय प्रस्तुति



धरान – गत शुक्रवार धरान रङ्गशालामा आयोजित ‘सुम्निमा पारुहाङ साँझ २०८१’ मा हजारौँ दर्शकको उपस्थितिले साङ्गीतिक माहौललाई ऐतिहासिक बनायो । सुम्निमा पारुहांगको प्रतिमा निर्माण अभियानको लागि आयोजित च्यारिटी कन्सर्टमा चर्चित ब्यान्डहरू सबिन राई एन्ड फ्यारोह, जोन एन्ड द लोकल्स, र पूर्ण राई एन्ड दाजुभाइहरूले पहिलो पटक एउटै स्टेजमा प्रस्तुति दिएका थिए ।

कन्सर्टको सुरुवात धरानकी गायिका क्यामरिन माझीले दिवङ्गत गायक नवराम राईलाई श्रद्धाञ्जली स्वरूप ‘गुराँसको फेद मुनि’ प्रस्तुत गर्दै गरिन् । त्यसपछि गायिका विष्णु चेम्जोङले ‘शान्ति लुकाऊँ कहाँ’ लगायतका गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।

युवापुस्तामाझ लोकप्रिय पूर्ण राईले ‘मनका कुरा’, ‘कालो सेतो’, ‘तिम्रो माया उनान्सय’ लगायतका गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाए । त्यसपछि जोन एन्ड द लोकल्सका गायक जोन चाम्लिङले ‘के गरूँ’, ‘फर्कन्न होला’, ‘प्रश्न’, ‘बादल सरी’ जस्ता गीतहरू प्रस्तुत गरी दर्शकलाई भावविभोर बनाए ।

कन्सर्टको अन्त्यमा सबिन राई एन्ड फ्यारोहले ‘समर्पण मेरो’, ‘जाऊँ कि बसु’, ‘तिमि नै हो’ लगायतका गीतहरू प्रस्तुत गरे । सबिन र पूर्णले संयुक्त रूपमा नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै ‘गुराँसको फेद मुनि’ गाएका थिए, जसले दर्शकलाई थप उत्साहित बनायो ।

कार्यक्रमको सञ्चालन इक्सा मादेन र महेश लिम्बुले गरेका थिए । धरानका मेयर हर्क साम्पाङले सम्पूर्ण कलाकारलाई धन्यवाद र सम्मान व्यक्त गर्दै निःशुल्क प्रस्तुति दिएकोमा आभार प्रकट गरे ।

सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा सम्पन्न कन्सर्टबाट उठेको सम्पूर्ण रकम सुम्निमा पारुहाङ प्रतिष्ठानमा हस्तान्तरण गरिने संयोजक मिना सिंगकले बताइन् । गत चैतमा आयोजित पहिलो कन्सर्टमा ६४ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

सुम्निमा र पारुहाङको कथा किराँती दन्त्यकथामा मानव सभ्यताको उत्पत्ति र विकाससँग जोडिएको एक महत्त्वपूर्ण मिथक हो । यस कथामा सुम्निमा एक सुन्दर नारी हुन्, जसले पारुहाङलाई प्रेममा आकर्षित गर्छिन्, तर पारुहाङको कुरूपता सुम्निमालाई निराश बनाउँछ । यो कथा यो कथा नाटक, मुन्दुम, र पवित्र स्थलहरूको माध्यमबाट निरन्तर प्रसारित हुँदै आएको छ, जसले नयाँ पुस्तामा यसको महत्त्वलाई जीवित राख्ने उद्देश्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu