काठमाडौं – यस पटकको महाशिवरात्रिमा तीन नेपाली चलचित्रहरू रिलिज हुने निश्चित भएको छ । पल शाह र दीपिका प्रसाईँको मुख्य भूमिका रहेको चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने घोषणा गरिएको छ । यसअघि फागुन १४ का लागि चलचित्र ‘लाज शरणम्’ले पनि प्रदर्शन मिति तोकेको थियो । त्यस्तै, फागुन १६ गते ‘होस्टेल ३’ रिलिज हुने तयारीमा छ ।
फागुन १४ गते महाशिवरात्रिको दिन भएकाले ‘मायावी’ र ‘लाज शरणम्’ एकै दिन प्रदर्शनमा आउनेछन्, भने ‘होस्टेल ३’ शुक्रवार प्रदर्शन हुनेछ ।
‘मायावी’ दिवाकर भट्टराईको निर्देशनमा बनेको हो । यसमा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त हुन् ।
‘लाज शरणम्’ हास्य कलाकार कुमार कट्टेल (जिग्री)को निर्देशनमा बनेको छ । यो चलचित्रमा विजय बराल, महेश त्रिपाठी, रेनु योगी, सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज) लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता नवीन श्रेष्ठ र सह-निर्माता राम नरेश शाह हुन् ।
‘होस्टेल ३’ शृङ्खलाको तेस्रो भाग हो । सशान कँडेल निर्देशित यस चलचित्रमा पारस बम (कुल ब्वाय), रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय छ । स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माता शङ्कर कोइराला, सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् ।