चलचित्रको ऐतिहासिक सफलता र गन्धर्व समुदायको सङ्घर्षको यथार्थ – विचार



चक्र बहादुर चन्द ।
पछिल्लो समय हाम्रो समाज फरक ढङ्गले अगाडी बढिरहेको छ । बजारमा के चर्चामा छ त्यसैको पछाडि हाम्रो समाज कुदिरहेको देखिन्छ । हो मा हो मिलाएर बिना अध्ययन बिना अनुसन्धान यसै गरी हाम्रो समाज अगाडी लम्केको खण्डमा हामी र हाम्रो समाजले तय गर्ने बाटो कस्तो हुने हो त्यो अहिले भन्न सक्ने अवस्था छैन तर, स्थिति भयावहतिर लम्किरहेको छ । बजारको मापन के कसरी हुन्छ त्यो यसै भन्न सक्ने स्थिति छैन ।

यही बिच चर्चा गरौँ नेपाली चलचित्र बजारको । नेपाली चलचित्रले अहिले व्यावसायिक रूपमा यसरी सफलता पाइरहेका छन् कि सबैले अब नेपाली चलचित्र बनाउनुपर्छ भन्ने तिर लागेको देखिन्छ । त्यसमा पनि अहिले अत्यधिक व्यावसायिक सफलता पाएको चलचित्र पूर्ण बहादुरको सारङ्गी जस्तो बनाउने भन्नेको छ त लहरै चलेको छ । यो स्वाभाविक पनि हो । तर सबै पूर्ण बहादुरको सारङ्गी जस्ता चलचित्रले व्यावसायिक सफलता पाउँछन् भन्ने छैन ।

यहाँ चर्चा गरौँ नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को । यो चलचित्रले नेपाली चलचित्र उद्योगमा ऐतिहासिक सफलता हासिल गरेको छ । ६ दशक लामो इतिहासमा ४० करोड भन्दा बढी कमाई गर्ने यो पहिलो चलचित्र बनेको छ । यसले नेपाली मौलिक सङ्गीत, परम्परा र कथालाई व्यावसायिक रूपमा पनि सफल बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ । सबैभन्दा धेरै कमाउने चलचित्र जसले हालसम्म ४० करोडको आँकडा पार गरिसकेको छ । अझै यसले केही करोड कमाउने देखिन्छ ।

सारङ्गी नेपालको मौलिक सांस्कृतिक धरोहर हो, जसले देशको विभिन्न समुदायको पहिचान र भावनात्मक कथा बोकेको हुन्छ । विशेष गरी गन्धर्व समुदायसँग यसको गहिरो रूपमा पहिचान जोडिएको छ । यही सारङ्गीलाई उनीहरूले आफ्नो साङ्गीतिक जीवनयापनको माध्यम बनाएका छन् । सारङ्गी केवल एक सङ्गीत वाद्य यन्त्र मात्र होइन; यो नेपालको परम्परा, संस्कृति र गन्धर्व समुदायको जीवनशैलीको प्रतीक हो । गन्धर्व समुदायले यसलाई केवल सङ्गीतको रूपमा नभई जीवनयापनको आधारका रूपमा उपयोग गरेका छन् । तर, आधुनिक समाजले यसको महत्त्वलाई पूर्ण रूपमा बुझ्न सकेको छैन । यद्यपि, पछिल्लो समय सारङ्गीको महत्त्वलाई चलचित्र र मनोरञ्जन क्षेत्रमा धेरै प्रयोग हुँदै आएको छ । तर सारङ्गी बजाएर जीवनयापन गर्ने रैथाने गन्धर्वहरूको भने सङ्घर्ष ओझेलमा परेको छ । त्यतातिर कसको ध्यान जाने बजारमा के चलेको छ त्यतै बग्ने हाम्रो समाजका कारण आज उनीहरूको जीवनबारे धेरैलाई थाह नै छैन, चर्चा त अलि परको कुरा भयो । उनीहरू सङ्कटमा छन् । तर, बजारमा पूर्ण बहादुरको सारङ्गी चलचित्रको चर्चा छ । यता सारङ्गी उता सारङ्गी यो रोयो त्यो रोयो भन्ने थरी थरीका भिडियो दैनिक जारी भइरहेका छन् । चलचित्रले धेरैको मन पनि जित्यो नेपाली साङ्गीतिक परम्पराको सम्मान पनि बढायो । जसका कारण चलचित्रले ४० करोडको आँकडा पनि पार गरी व्यावसायिक सफलता हासिल गर्‍यो, तर गन्धर्व समुदायको वास्तविकता भने निकै फरक छ । डिजिटल युग र बदलिँदो साङ्गीतिक प्रवृत्तिका कारण परम्परागत कला लोप हुने खतरामा छ । उनीहरूको जीवन, जसको मुख्य आधार सारङ्गी हो, त्यही सारङ्गी अहिले सङ्घर्षपूर्ण रूपमा छ । यो चलचित्रले गन्धर्व समुदायको वास्तविक कथा र समस्याहरूलाई उजागर गरेको कुरा भने धेरैजसोले महसुस गरेनन् ।

सारङ्गी बजाउने गन्धर्व समुदायको जीवनशैली सङ्घर्षले भरिएको छ । उनीहरूको आम्दानीको मुख्य स्रोत सारङ्गी बजाउनु र परम्परागत गीत गाउनु हो । तर, डिजिटल युगको सुरुवातसँगै परम्परागत साङ्गीतिक साधनहरूको माग भने दिनहुँ घट्दै गएको छ । जसका कारण उनीहरूमा आर्थिक समस्या परिरहेको छ । सारङ्गी बेचेर वा बजाएर भनेजस्तो आम्दानी गर्न नसक्दा गन्धर्व समुदायले वैकल्पिक पेसा अँगाल्न पुगेका छन् । यो उनीहरूको बाध्यता हो । ‘चलचित्र चलेर ४० करोड त कमायो तर गन्धर्व समुदायको जीवनमा के परिवर्तन भयो त ?’ भन्ने गम्भीर प्रश्न चिन्ह्र खडा भएको छ । चलचित्र चल्यो राम्रो कुरा तर युवा पुस्ता यस पेसाप्रति आकर्षित नहुँदा चलचित्रको सारङ्गी एक दिन लोप भएर जान् खतरा बढेको छ । परम्परागत कला र संस्कृति लोप हुने खतरा बढेको स्थितिमा यसको संरक्षणमा चलचित्र निर्माण टिमले सारङ्गीको संरक्षण र गन्धर्व समुदायको जीवनस्तर उकास्न सानो प्रयास थाल्न आवश्यक छ । चलचित्रको मुनाफाको केही हिस्सा यसको संरक्षणका लागि छुट्टाउन सकिन्छ । यो कार्यले सारङ्गी जस्तो ऐतिहासिक र सांस्कृतिक महत्वको साधनको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण योगदान हुनेछ । यो चलचित्र टिमको सफलताको अर्को पाटो हुन जानेछ ।

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रले वास्तविक गन्धर्व समुदायको कथा र संस्कृतिलाई झल्काउन उनीहरूको वास्तविक सिर्जनाहरूलाई चित्रण गर्न नसकेता पनि आम दर्शकले यो चलचित्रलाई दिएको साथ सहयोगले चलचित्रलाई उचाइमा पुर्‍याइदिएका छन् । अव सारङ्गी टिमले त्यो उचाइलाई कायम गरिराख्न सारङ्गीको संरक्षण र प्रवर्द्धनका लागि लाग्न जरुरी देखिन्छ ।

पूर्ण बहादुरको सारङ्गी चलचित्रले जसरी नेपाली दर्शकको मन जितेको छ, त्यसरी नै चलचित्र टिमले पनि सारङ्गी बजाउने गन्धर्व समुदायको सङ्घर्षलाई अझ उजागर गर्दै साङ्गीतिक परम्परालाई सम्मान र संरक्षण गर्न लागी पर्नुपर्छ , यसले मात्र सारङ्गीको वास्तविक कथा अमर बन्न सक्नेछ ।

लौन केही गरौँ ।

  • लेखक चन्द नेपाली चलचित्रका कार्यकारी निर्माता तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu