काठमाडौं – कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने नेपाली चलचित्र ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रवार औपचारिक रूपमा सुहानालाई चलचित्रमा अनुबन्धित गरेका हुन् ।
मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्सलाई चलचित्र निर्माणको अधिकार दिएको थियो । मैनालीको कथा सङ्ग्रह ‘नासो’मा सङ्गृहीत ‘परालको आगो’ शीर्षक कथा दुई पात्र चामे र गौँथलीको झैझगडाको विषयवस्तुलाई प्रस्तुत गर्छ।
चलचित्रमा अनुबन्धित भएपछि सुहानाले खुसी व्यक्त गर्दै भनिन्, “एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । यही कारणले मैले पहिलो पटक घरबाहिरको चलचित्रमा काम गर्दैछु ।” बताइए अनुसार सुहानाले यो चलचित्रमा कथाकी पात्र ‘गौँथली’को भूमिका निभाउनेछिन् ।
चलचित्रका निर्माता पोखरेलले ‘परालको आगो’लाई फरक ढङ्गले प्रस्तुत गर्ने योजना रहेको बताए । “यस पटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई विशेष ध्यान दिइनेछ,” उनले भने । पोखरेलका अनुसार चलचित्रको छायाङ्कन फागुन महिनादेखि सुरु हुनेछ भने प्रदर्शन मिति २०८२ सालको दसैँलाई तय गरिएको छ ।
यसअघि यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए । तर, यो पटक निर्देशक लक्ष्मण सुनारको निर्देशनमा ‘परालको आगो’लाई नयाँ ढङ्गले पुनः जीवित पार्न खोजिएको छ ।