काठमाडौं – केही महिना अघि सार्वजनिक प्रदर्शन भई सफल भएको नेपाली चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समय युट्युबको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ । असोज ६ गते विश्वव्यापी ट्रेन्डिङमा समावेश यो गीतले लामो समयसम्म आफ्नो विभिन्न स्थान बनाएको छ ।
एसडी योगीद्वारा सङ्गीतबद्ध तथा योगी र शान्तिश्री परियारद्वारा स्वरबद्ध यस गीतलाई युट्युबमा मात्र अहिलेसम्म ६ करोड १६ लाख भन्दा धेरै पटक हेरिएको छ । यो गीत टिकटक र रिल्समा पनि उत्तिकै लोकप्रिय छ । यसको लोकलय र मनछुने शब्दको साथमा आम मानिसले सजिलै उतार्न सक्ने डान्स स्टेपका कारण यो गीतलाई धेरैले रुचाइरहेका छन् । धिरज मगर र उपासनासिंह ठकुरी फिचर्ड यस गीतमा विदेशीले पनि भिडियो बनाइरहेका छन् ।
यो गीत चर्चित हुनुमा अडिओसँगै यसको भिडिओले महत्त्वपूर्ण काम गरेको छ । यहि गीत र कोरियोग्राफीको सन्दर्भलाई लिएर ठुलोपर्दा डटकमका जीवन पराजुलीले यसका कोरियोग्राफर सुरेन्द्र राई (सुरेन)सँग कुराकानी गरेका छन्:
‘रुकुम मैकोट’ गीत युट्युब ग्लोबल ट्रेन्डिङमा सबैभन्दा लामो समय बसिरहने गीत बन्न सफल भयो र नेपालमा सङ्गीत ‘क्याटगरी’मा पहिलो स्थानमा छ । तपाईँको कोरियोग्राफीले यसमा कस्तो भूमिका खेलेको जस्तो लाग्छ?
मैले यो गीत कोरियोग्राफ र डिजाइन गर्दा मेरो सोच थियो कि सबैले यो कोरियोग्राफी हेरेर रमाइलो महसुस गरून्, उत्सवको भावना जागोस्, आफ्नोपन महसुस होस्, अनि गीतका स्टेपहरू सिक्दै डान्स भिडियोहरू बनाउन् । अहिले यो सबै कुरा सफल भएको छ । मैले जति सोच राखेर यो गीतको कोरियोग्राफी गरेको थिएँ, त्यसमा म अत्यन्त सफल भएँ । सारा नेपालीहरूले यो गीत र कोरियोग्राफी मन पराइदिनुभयो, जसका कारणले धेरैले यसमा डान्स भिडियोहरू बनाउनुभयो, र यही कारण यो गीत एकदमै भाइरल भयो र ग्लोबल ट्रेन्डिङसम्म पुग्न सफल भयो । ग्लोबल ट्रेन्डिङमा पुग्न सफल हुनुको एउटा महत्त्वपूर्ण कारण कोरियोग्राफीलाई पनि दिन सकिन्छ । यस गीतले नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि नयाँ उचाइमा पुर्याएको छ, जुन मेरो लागि अत्यन्तै गर्वको विषय हो ।
तपाईँको हुकस्टेपहरू फेसबुक रिल्स, युट्युब शर्ट्स, र टिकटकमा भाइरल छन् । गीत पनि सुपरहिट बन्यो । यही गीतले नै चलचित्र हेर्न दर्शकलाई हलसम्म पुग्न प्रेरित गर्यो भन्ने चर्चा हुन्छ । यसमा तपाईँको प्रतिक्रिया के छ?
कुनै पनि फिल्मको प्रचारको लागि गीत एकदमै महत्त्वपूर्ण हुन्छ । फिल्म ‘खुस्मा’ को प्रमोसनको लागि हाम्रो गीत ‘रुकुम मैकोट’ ले पनि अत्यन्त धेरै सहयोग गरेको छ । नेपाली दर्शकहरूले यो गीतको कोरियोग्राफी मन पराएर, विशेष गरी हुक स्टेपमा आधारित डान्स भिडियोहरू बनाइदिनुभयो, जसले गर्दा यो गीत भाइरल हुन सफल भयो । गीत भाइरल हुने बित्तिकै, धेरैले ‘यो कुन फिल्मको गीत हो? ‘ भन्ने प्रश्न गर्न थाले । गीत र हुक स्टेप भाइरल भएकै कारणले धेरै दर्शकले फिल्म ‘खुस्मा’ को बारेमा जानकारी पाए । केही दर्शक त विशेष रूपमा गीत हेर्नकै लागि सिनेमा हलसम्म पुगेको पनि देखियो । मलाई लाग्छ कि ‘रुकुम मैकोट’ गीतले दर्शकलाई सिनेमा हलसम्म तान्नमा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्नुमा कुनै फरक पर्दैन । यसले फिल्मको सफलतामा ठूलो योगदान दिएको छ भन्ने लाग्छ ।
यसको कोरियोग्राफीमा परम्परागत र आधुनिक नृत्यको संयोजन देखिन्छ । तपाईँलाई यसको लागि के कुराले प्रेरित गर्यो?
हो, मैले यो गीतको कोरियोग्राफी गर्ने बेलामै हाम्रो संस्कार, परम्पराको सौन्दर्य र त्यसको सारलाई कायम राख्दै, हल्का आधुनिक ‘टच’ दिनुपर्छ भन्ने सोचेको थिएँ । किनभने मेरो उद्देश्य सबै पुस्ताका दर्शकसम्म पुग्ने थियो । एक गीत र कोरियोग्राफी त्यति बेला मात्र सफल हुन्छ जब सबै उमेरका दर्शकहरूले त्यसलाई हेरेर आनन्द लिन्छन् र प्रशंसा दिन्छन् । पुरानो पुस्तालाई आफ्नो संस्कार र परम्पराप्रति गहिरो माया हुन्छ, र तिनीहरूले त्यसको महत्त्व र मूल्य बुझ्छन् । त्यसैले मैले हाम्रो सांस्कृतिक सम्पदालाई जोगाएर, पुरानो पुस्तालाई आकर्षित गर्ने गरी कोरियोग्राफी गरेँ । अहिलेको पुस्तालाई पनि ध्यानमा राखेर, मैले यसलाई हल्का आधुनिक ‘टच’ दिएँ ताकि उनीहरूलाई पनि आफ्नोपन महसुस होस् । यो संयोजनले गर्दा सबै पुस्ताका दर्शकले गीत र कोरियोग्राफीलाई मन पराए र त्यसले गीतलाई अझ सफल बनायो ।
‘रुकुम मैकोट’को सफलतापछि भविष्यमा कस्ता प्रकारका प्रोजेक्टहरूमा काम गर्ने योजना छ?
जसरी यो गीत ग्लोबल ट्रेन्डिङमा परेर नेपालको सौन्दर्य, संस्कृति, र परम्पराको प्रमोसन भयो, त्यसै गरी अझै यस्ता अरू प्रोजेक्टहरू गर्न मन छ, जसले नेपाललाई विश्वभरि चिनाउन सहयोग गरोस् । विश्व स्तरको स्टेज र बजारमा नृत्य मार्फत नेपालको पहिचान स्थापित गर्ने परियोजनाहरूमा काम गर्न चाहन्छु ।
युवा कोरियोग्राफरहरूलाई परम्परागत र आधुनिक नृत्यको संयोजनमा तपाईँको सुझाव के हुनेछ?
अहिलेको समयमा सबै पुस्तालाई आकर्षित गर्नको लागि संस्कृति, परम्परा, र आधुनिक शैलीको मिश्रण महत्त्वपूर्ण हुन्छ, तर त्यो गीतको प्रकृतिमा भर पर्छ । हरेक सांस्कृतिक गीतमा आधुनिक शैली मिलाउन सम्भव नहुन सक्छ । आधुनिक शैली मिश्रण गर्ने सोचमा, हाम्रो संस्कृति र परम्परालाई बिगार्नु हुँदैन । त्यसैले, सुरुमा गीतलाई ध्यानपूर्वक सुनेर बुझ्नुपर्छ, त्यसको अनुसन्धान गर्नुपर्छ, अनि मात्र आधुनिक शैली समावेश गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्नुपर्छ । यस्तो निर्णय गर्दा गीतको मौलिकता र सांस्कृतिक मूल्यलाई सम्मान गर्ने कुरामा सचेत हुनुपर्छ ।
तपाईँको कोरियोग्राफी अन्य नेपाली गीतहरूसँग तुलना गर्दा ‘रुकुम मैकोट’मा के भिन्नता महसुस गर्नुभयो?
आजकल नेपाली गीतहरू प्रायः आधुनिक शैलीमा धेरै आइरहेका छन् । अरू गीतहरूले प्रायः पृष्ठभूमिमा रहेको प्राकृतिक सुन्दरतामा ध्यान दिन्छन् या त केवल नृत्यको कोरियोग्राफीमा मात्र केन्द्रित हुन्छन् । तर मैले यो गीतलाई विस्तृत रूपमा छलफल गरेर, मगर संस्कृति र समुदायको गहिरो अनुसन्धान गरेपछि मात्र कोरियोग्राफी गरेको थिएँ । यो गीतमा मैले कोरियोग्राफी, कलाकारहरूको सम्बन्ध (केमेस्ट्री), फिल्मको कथाको निर्माण र पृष्ठभूमिमा रहेको रुकुमको सुन्दरतालाई विशेष ध्यान दिएर दृश्यांश गरेको छु । यसैले, ‘रुकुम मैकोट’ को भिडियो र कोरियोग्राफी अरू नेपाली गीतहरू भन्दा निकै फरक देखिएको छ । सांस्कृतिक र आधुनिक शैलीको मिश्रणले बनेको कोरियोग्राफीलाई सबैले स्वीकार गर्नुभयो र माया दिनुभयो, जसले गर्दा यो गीतले दर्शकहरूलाई अझै नजिक ल्याउन सफल भयो ।