रिलिज भए ‘अग्निदहन’ र ‘तेल भिसा’



काठमाडौं – बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज मानिएको नेपाली चलचित्र ‘अग्निदहन’ सार्वजनिक प्रदर्शनमा आएको छ । रिलिज अगाडि बुधवार साँझ काठमाडौंमा यो चलचित्रको प्रिमियर गरिएको थियो । प्रिमियरमा यसको कथावस्तु र प्रस्तुतिलाई मन पराइएको थियो ।

नेपालका ग्रामीण क्षेत्रमा अझै पनि जीवित बोक्सी प्रथाका कारण महिलाहरूले भोग्नुपरेको अन्याय र पीडालाई उठान गर्न यस्ता चलचित्रहरू आवश्यक रहेको जनाउँदै धेरै चलचित्रहरूले समस्या मात्र उजागर गर्ने तर समाधान नदेखाउने प्रचलन तोड्दै ‘अग्निदहन’ले समस्या र समाधान दुवैलाई गहिरो रूपमा प्रस्तुत गरेको टिप्पणी चलचित्र हेरेकाले गरेका थिए । साथै, समाजमा व्याप्त भयावह कुरीतिमाथि गरिएको साहसी प्रहारका रूपमा व्याख्या गरिएको थियो ।

यसका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सी प्रथाविरुद्ध जनचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको र यो फिल्म त्यसकै एक हिस्सा रहेको प्रतिक्रिया दिए । घनश्याम लामिछानेले निर्देशन गरेको यस चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, र तारा बहादुर गुरुङ लगायतको अभिनय छ । यसमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, र शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन रहेको छ ।

यस चलचित्रसँगै, अर्को नेपाली चलचित्र ‘तेल भिसा’ पनि सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्रमा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेका छन् । नेपालबाट अमेरिका पुगेकी आमाले सामना गर्नुपरेको कानुनी जटिलतामा आधारित कथामा यो चलचित्र बनेको छ । चलचित्रको लेखन र निर्देशन शङ्कर घिमिरेले गरेका छन् । सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रमा विपिन र पूजासहित वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, र सुचित्रा उप्रेतीले अभिनय गरेका छन् भने केही अमेरिकी कलाकारहरूको पनि सहभागिता छ । प्रस्तुत कर्ता ऋचा घिमिरे रहेको यस चलचित्रका निर्माता अनिल पाण्डे र शिवराज कार्की हुन् भने प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu