काठमाडौं – नेपाली चलचित्र इतिहासमा पहिलो पटक पूर्ण रूपमा स्मार्टफोन (आइफोन १४ प्रो)बाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन्’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा विभिन्न सपनाहरू साँचेका युवाहरूको कथालाई प्राथमिकतामा राखिएको छ ।
यो चलचित्र स्मार्टफोनबाट खिचिएको भए तापनि यसको सिनेमाटोग्राफीको गुणस्तर भने सन्तोषजनक नै छ । केही समय अघि यो चलचित्रको विशेष प्रदर्शन गरिएको थियो । चलचित्र हेरेका दर्शकले यसको छायाङ्कन, सम्पादन र निर्देशनको गुणस्तरलाई लिएर चर्चा गरेका थिए । यो चलचित्र सानो लगानीमा बनेको भए पनि यसले नेपाली चलचित्र क्षेत्रमा नयाँ प्राविधिक प्रयोगको उदाहरण प्रस्तुत गरेको छ ।
ट्रेलर सार्वजनिकसँगै यो चलचित्रलाई ओटिटी प्लेटफर्म ‘अमेजन प्राइम’मा स्ट्रिमिङ सुरु गरिएको छ । यो चलचित्रलाई निश्चित रकम तिरेर ‘अमेजन प्राइम’मा हेर्न सकिने चलचित्रका निर्देशक जेसन लोप्चनले बताए ।
वन स्क्वाड फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिडेन श्रेष्ठ, सन्तोष मिजार लगायतको अभिनय रहेको छ । यसको लेखन र सम्पादन निर्देशक लोप्चनले नै गरेका छन् । सह-निर्माता उमेश खड्का, डिओपी प्रवीण लिम्बु हुन् भने सङ्गीतकारहरू राजीव थापा, गणेश जङ्ग रावल र प्रज्वल खड्का हुन् ।
ट्रेलर: