काठमाडौं – चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा ऐतिहासिक कदम स्वरूप पटकथा सङ्ग्रहालयको औपचारिक सुरुवात गरेको छ । बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा पटकथा सङ्ग्रहालयको औपचारिक सुरुवात गरेका हुन् । बोर्डले यो कदमलाई ‘नेपाली चलचित्रको इतिहासलाई जोगाउने उद्देश्य’ भनेको छ । यो सङ्ग्रहालयले नेपाली चलचित्रका पटकथाहरूलाई सुरक्षित राख्नेछ ।
सो कार्यक्रममा हालको लागि ६ जना निर्माता, लेखक तथा निर्देशकले आफ्ना एक-एक चलचित्रका पटकथाहरू हस्तान्तरण गरे । यसमा ‘बोक्सीको घर’की निर्मात्री तथा अभिनेत्री केकी अधिकारी, ‘अन्तराल’ लेखक तथा निर्देशक दीपा बस्नेत, ‘नाङ्गो गाउँ’ लेखक तथा निर्देशक दीपेन्द्र लामा, ‘दुई नम्बरी’ निर्माता किरण नेपाली, ‘चिसो मान्छे’ लेखक तथा निर्देशक दीपेन्द्र के खनाल, ‘कबड्डी ४’ निर्देशक तथा निर्माता रामबाबु गुरुङ, र ‘छक्का पञ्जा ५’ निर्माता तथा निर्देशक दीपाश्री निरौलाले पटकथा प्रदान गरे ।
बोर्डले पटकथाहरूलाई डिजिटल अभिलेखको रूपमा तयार पार्ने योजना बनाएको छ । यसले नेपाली चलचित्रको ऐतिहासिक सम्पदालाई मात्र जोगाउने नभई भावी पुस्ताका लागि अध्ययन र अनुसन्धानको महत्त्वपूर्ण स्रोत पनि बनाउने जनाइएको छ ।
सो कार्यक्रममा मन्त्री गुरुङले चलचित्र ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिँदै एक वर्षभित्र लागू गरिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली चलचित्र बलिउडभन्दा अघि रहेको दाबी गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विदेशी कार्यक्रमहरूको निम्तो अस्वीकार गर्दै कामलाई प्राथमिकता दिएका बताए । उनले नेपाली चलचित्रको प्रचारप्रसारलाई अझ सशक्त बनाउन रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, र गोरखापत्रमा निःशुल्क प्रचारको व्यवस्था मिलाएको साथै, चलचित्र हलहरूको अवलोकन र ड्रोन लाइसेन्स वितरणका लागि एकद्वार नीति बनाउने योजना रहेको बताए ।
सो अवसरमा ७२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको थियो । साथै, बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार मङ्सिर १२ गते आयोजना हुने घोषणा गरेको छ ।