काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ ले देशभरका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको छ। ‘वीक डेज’मा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको यस चलचित्रले आज नेपालगञ्जमा सर्वाधिक शो पाएको छ।
बाँकेको नेपालगञ्जस्थित सिने रोयल र क्युएफएक्स बागेश्वरीले चलचित्रलाई १५ शो प्रदान गरेका छन्। ती सबै शो बिहानैदेखि दर्शकले भरिभराउ छन्। दर्शकको उत्साहपूर्ण साथले उत्साहित चलचित्र टोली बुधवार नेपालगञ्ज पुगेको छ।
भारतीय अभिनेता प्रदीप सिंह रावत, चलचित्रकी निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गाना, अभिनेता हरिहर अधिकारी, र निर्देशक चन्द्र पन्त दर्शकसँग साक्षात्कार गर्न विशेष कार्यक्रमका लागि उपस्थित भएका छन्।
चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा र संवादमा प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीको योगदान छ। चलचित्रको छायांकन बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले गरेका छन्।
यो चलचित्रका निर्देशक चन्द्र पन्त हुन्। पन्तले यसअघि केही भोजपुरी चलचित्र निर्देशन गरेका छन् र करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका छन्। ‘ह्रस्व दीर्घ’ पन्तको पहिलो नेपाली चलचित्र हो।
नीता ढुङ्गानाद्वारा निर्मित यो चलचित्र तेलुगु र हिन्दी भाषामा समेत रिलिज गर्ने तयारीमा छ। यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशा गरिएको छ।