काठमाडौं – गोरखाको सिरान चोकमा मङ्गलवार शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘रिमै’को छायाङ्कन सुरु गरिएको छ । मुहूर्तको विशेष सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङले दिएका थिए ।
यसका निर्देशक खिल बहादुर गुरुङले एक महिनासम्म गोरखाको सिरान चोक, झार गाउँ, कुल गाउँ, भँगेरी, लासे, सिम्ले, गोहरे, चित्रे पोखरी, र गोर्खा बजारका विभिन्न लोकेसनमा छायाङ्कन हुने बताए । ‘रिमै’ गोरखा सिरान चोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुतिमा आरआर फिल्मस् र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको छ । रोहित कट्टेल प्रस्तुत कर्ता रहेको यस चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
दयाहाङ र रिश्मासँगै चलचित्रमा बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बिरबल घले, डिबि गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।
यसको लेखन उपेन्द्र सुब्बाले गरेका हुन् भने छायाङ्कन शैलेन्द्र ध्वज कार्कीले गर्नेछन् ।सम्पादन मित्र डी. गुरुङले गर्नेछन्।