काठमाडौं – भारतीय अभिनेता प्रदीप रावत नेपाली दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कारका लागि सोमबार कमलपोखरीस्थित बिग मुभिज पुगे । उनी चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्द्धनका लागि नेपाल आएका हुन्।
दिउँसो २ः४५ बजेको शोमा प्रदीपले हलभित्रै पुगेका दर्शकसँग चलचित्रको प्रतिक्रिया लिए । हाउसफुल हलमा उनको प्रवेशले माहौल झनै उत्साहपूर्ण बनायो । दर्शकहरूले हुटिङ गर्दै प्रेम व्यक्त गर्दा प्रदीप प्रसन्न मुद्रामा देखिए । उनले दर्शकसँग संवाद गर्दै भने, ‘तपाईँहरूको माया पाउन म नेपाल आएको हुँ । तपाईँहरूको साथले मलाई प्रेरणा दिन्छ ।’
दर्शकहरूका प्रतिक्रिया सकारात्मक मात्र नभई जोसिलो पनि देखियो । अधिकांशले चलचित्रलाई ‘बबाल’ भन्दै हुटिङ गरे । प्रदीपले चलचित्रलाई दर्शकबाट प्राप्त माया देखेर खुसी व्यक्त गर्दै भने, ‘यो पारिवारिक चलचित्र हो । पूरै परिवार लिएर आउनुस्, सानदार अनुभव हुनेछ ।’
उनले निर्माता द्वय निता ढुङ्गाना र हरिहर अधिकारीको मेहनत र त्यागले सफलता पाएको भन्दै प्रशंसा पनि गरे । प्रदीपले सञ्चारकर्मीहरूसँग भने, ‘चलचित्र उत्कृष्ट चलेको देख्दा निकै खुसी लागेको छ । यो चलचित्रले सबैलाई जोड्ने काम गरेको छ ।’
पत्रकारहरूले नेपाली कलाकारका रूपमा उनको अनुभवबारे प्रश्न गर्दा प्रदीपले भने, ‘म पहाडी हुँ र नेपाल पनि पहाड हो। हाम्रो डिएनए मिल्छ । मेरो अनुहार पनि अलिअलि नेपालीसँग मिल्छ । मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु ।’
उनले आगामी दिनमा पनि नेपाली चलचित्रमा काम गर्न रुचि राखेको बताए । प्रदीपले चलचित्र ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री द्वय निता ढुङ्गाना र गरिमा शर्माको बुबाको भूमिका निर्वाह गरेका छन् ।
आइतबार साँझ श्रीमती कल्याणीसँग काठमाडौं आएका प्रदीपको चार दिने नेपाल बसाइमा उनी दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज जाने कार्यक्रम समेत छ । उतैबाट उनी भारत फर्किने जनाइएको छ । यसअघि, उनी चलचित्रको छायाङ्कनका लागि गत पुसमा नेपाल आएका थिए ।
रावत बलिउड र दक्षिण भारतका चर्चित अभिनेता हुन् । उनी चलचित्र ‘गजनी’ मा नकारात्मक भूमिकाका कारण दर्शकहरूबिच चर्चित छन् । उनले हिन्दी, तमिल, तेलुगु, मलायलम, र भोजपुरी गरी डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ ले उत्साहजनक ओपनिङ गरेको छ । शनिवार हलमा दर्शकको भीड झनै बढ्यो भने आइतबार पनि व्यापार राम्रो रह्यो । सोमबार सरकारले सार्वजनिक बिदा दिएपछि देशभर चलचित्रको व्यापार अझै उकालो लागेको छ ।
चलचित्रले तीन दिनमै २ करोड ७५ लाख कमाइ गरेको निर्माताले जनाएका छन् ।