आगामी जुनमा नेपाल-अमेरिका चलचित्र महोत्सवको आठौँ संस्करण



काठमाडौं – नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण २०२५ को जुन १९ देखि २२ सम्म अमेरिकाको मेरिल्यान्ड राज्य र वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना हुने भएको छ । महोत्सवका लागि आवेदन खुला गरिएको जानकारी आयोजक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले दिएको छ ।

सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपाली चलचित्र, अमेरिकी फिल्म, दक्षिण एसियाली सिनेमा र अन्य स्वतन्त्र अन्तर्राष्ट्रिय फिल्महरूलाई उच्च प्राथमिकता दिन्छ । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन लगायत विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

अमेरिकाको डिसी, मेरिल्यान्ड, र भर्जिनिया क्षेत्रका स्थानीय चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्न विशेष ‘डीएमभी क्लोजअप’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै, ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।

महोत्सवको अवधिमा चलचित्र प्रदर्शन मात्र नभई चलचित्र, संस्कृति, र नयाँ प्रविधि सम्बन्धी प्यानल छलफल र कार्यशाला पनि आयोजना गरिने र हरेक चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारहरूसँग अन्तरक्रियाका कार्यक्रमहरू हुने आयोजकले बताएको छ ।

आन्तरिक रूपमा गठन गरिएको अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूको समितिले प्रदर्शनका लागि छनोट गरिएका चलचित्रहरूलाई उत्कृष्टता प्रमाणित गर्ने विभिन्न अवार्ड प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu