काठमाडौं – नेपाली रङ्गमञ्च र चलचित्रको परिचित नाम प्रमिला ताम्राकार तुलाचनको अभिनय यात्राले एक पटक फेरि ध्यान खिचेको छ । २०५० सालमा नाटक ‘परित्याग’बाट सुरु भएको अभिनय यात्रामा उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’, ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा’, ‘च च हुई’ र ‘पुजार सार्की’सम्म पुर्याइसकेकी छिन् । यही मङ्सिर ७ गते रिलिज हुन लागेको चलचित्र ‘अग्निदहन’मा उनले बोक्सीको आरोप लागेकी ‘माइली दमिनी’को भूमिका निभाएकी छन् ।
मङ्सिर ७ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘अग्निदहन’मा माइली दमिनीको भूमिका निभाउनु प्रमिलाका लागि एउटा कठिन यात्रा थियो । समाजमा बोक्सीको आरोप लगाइने एक असहाय, दुःखी र गरिब महिलाको कथालाई पर्दामा उतार्न उनले धेरै अध्ययन र मेहनत गरेकी छन् । “यो भूमिका निभाउन मलाई निकै चुनौती थियो” प्रमिलाले भनिन्, ”मैले सुकुम्वासी बस्तीमा गएर त्यहाँका महिलाहरूको जीवनको वास्तविकता बुझ्ने प्रयास गरेँ । गरिबी, सामाजिक अन्याय र सहाराविहीन अवस्थाको पीडा मैले नजिकबाट महसुस गरेँ ।”
माइली दमिनीको जटिल चरित्रलाई निभाउन प्रमिलाले परिवारसँग सल्लाह गरेकी थिइन् । श्रीमानको साथ र समर्थनले यो भूमिकालाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको उनले बताइन् ।
चलचित्रको फस्टलुक र ट्रेलर सार्वजनिक भएपछि दर्शकको सकारात्मक प्रतिक्रिया प्रमिलाको लागि प्रेरणादायी बन्यो । “दर्शकले माइली दमिनीलाई सहानुभूति देखाए” उनले भनिन्, “कति बच्चाहरू त दृश्य देख्दा डराए पनि ।” तर यो भूमिका निभाउँदै गर्दा प्रमिलाले आफूमाथि भावनात्मक असर परेको अनुभव गरिन् । “पात्रमा माईली दमिनीलाई मलमूत्र खुवाउने र कुटपिट गर्ने दृश्यमा मलाई अत्यन्त कठिन भयो । त्यति बेला मैले महसुस गरेँ, साँच्चै यस्तो महिलाको जीवन कति कष्टपूर्ण हुन सक्छ,” उनले आफ्नो भावुक अनुभव सुनाइन् ।
प्रमिला ‘अग्निदहन’ले नेपाली समाजमा विद्यमान बोक्सी प्रथाजस्ता कुप्रथालाई उजागर गरेको दाबी गर्छिन् । “समाजमा जो अशक्त, गरिब, एकल र सहाराविहीन छन्, उनीहरूलाई नै बोक्सीको आरोप लगाइन्छ । यो चलचित्रले यो कुप्रथाको विरुद्धमा सशक्त आवाज उठाउने प्रयास गरेको छ,” प्रमिलाले भनिन् ।
प्रमिलाका अनुसार, ‘अग्निदहन’ सत्य घटनामा आधारित मात्र होइन, समाजलाई सोच्न र परिवर्तन गर्न प्रेरित गर्ने फिल्म हो । “यो मेरो अरू फिल्मभन्दा निकै फरक छ। यसले बोक्सी प्रथाविरुद्ध आवाज उठाउने मात्र होइन, पीडित महिलाको जीवनलाई वास्तविकतासँग जोड्ने प्रयास गरेको छ,” उनले बताइन् ।