काठमाडौं – दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुनका लागि आइतबारको दिन विशेष बन्यो । उनले बिहारको पटनामा रहेको गान्धी मैदानमा आफ्नो बहु प्रतीक्षित चलचित्र ‘पुष्पा : द रुल’को ट्रेलर भव्य रूपमा सार्वजनिक गरे ।
लगभग तीन मिनेट लामो ट्रेलरमा अल्लु अर्जुनको खतरनाक र धमाकेदार अवतार देख्न पाइन्छ । चलचित्रका प्रमुख कलाकारहरूमा अल्लुसँगै रश्मिका मन्दना र फहाद फासिल पनि छन् । चलचित्रलाई सुकुमारले निर्देशन गरेका छन् भने मैथ्री मूवी मेकर्सले निर्माण गरेको हो । यो चलचित्र डिसेम्बर ५ मा प्रदर्शनमा आउने तयारी छ ।
बिहारजस्तो ठेट हिन्दी बजारमा ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक गर्नु निर्माता र अल्लु अर्जुनको ठूलो रणनीति हो । यो कदमले चलचित्रलाई भारतभरका साना सहर र गाउँ बस्तीका ‘मास अडियन्स’ सम्म पुर्याउन मद्दत गर्ने विश्वास गरिएको छ । ३ वर्षअघि रिलिज भएको ‘पुष्पा : द राइज’ ले पनि बिहार, उत्तर प्रदेशजस्ता क्षेत्रका सिङ्गल स्क्रिन हलहरूमा उल्लेखनीय व्यापार गरेको थियो ।
ट्रेलरको सुरुवातमा आवाज सुनिन्छ— “को हो यो मान्छे, जसलाई न त पैसाको परवाह छ, न पावरको डर । पक्कै पनि यसलाई गहिरो चोट लागेको छ ।” त्यसपछि पुष्पाको भूमिकामा अल्लु अर्जुनको धमाकेदार प्रवेश हुन्छ । उनी भन्छन्, “पुष्पा… ढाई अक्षर नाम सानो छ, तर साउन्ड धेरै ठूलो छ ।”
ट्रेलरले पुष्पाको व्यापार आन्ध्र प्रदेशका पहाडहरूबाट सुरु भएर अन्तर्राष्ट्रिय बजारसम्म पुगेको कथा देखाउँछ । स्वदेशी र विदेशी दुस्मनहरूसँग लड्दै पुष्पा आफ्नो हकका लागि सङ्घर्ष गरिरहेको छ । चलचित्रमा रश्मिका मन्दनासँगको केमिस्ट्री र फहाद फासिलसँगको टकराबलाई विशेष रूपमा प्रस्तुत गरिएको छ ।
सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’ भारतकै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको थियो । यसले भारतभर ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोड रुपैयाँ कमाएको थियो । भोजपुरी भाषामा ‘श्रीवल्ली’ गीतको भर्सन पनि हिट भएको थियो ।
ट्रेलर: https://youtu.be/1kVK0MZlbI4