एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारले आफू अभिनीत चर्चित कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’को बहु प्रतीक्षित सिक्वेलको छायाङ्कन सन् २०२५ देखि सुरु हुने पुष्टि गरेका छन् । अहिले ‘वेलकम टू द जङ्गल’ को छायाङ्कनमा व्यस्त रहेका अक्षयले प्रशंसकहरूलाई यो आइकोनिक कमेडी फ्रेन्चाइज छिट्टै फर्किने आश्वासन दिएका हुन् ।
भारतीय मिडियाहरुमा प्रकाशित समाचारका अनुसार यसको तेस्रो सिक्वेलमा अक्षयसँगै यो चलचित्रका चरचित पात्रहरू बाबुराव (परेश रावल) र श्याम (सुनील शेट्टी)को पनि पुनरागमन हुने पुष्टि भएको छ ।
‘हेरा फेरी’ बलिउडको सबैभन्दा चर्चित र मनपर्ने कमेडी चलचित्रहरूमध्ये एक हो । प्रियदर्शनले निर्देशन गरेको यो चलचित्र सन् २००० मा प्रदर्शनमा आएको थियो । अक्षय कुमार (राजु), परेश र सुनील अभिनीत यस चलचित्रको कथा तीन आर्थिक समस्यामा परेका व्यक्तिहरू वरिपरि घुम्छ, जो गल्तीले अपहरणको घटना र फिरौतीको षड्यन्त्रमा फस्छन् ।
‘हेरा फेरी’को सफलतापछि यसको सिक्वेल ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शन भएको थियो, जसको निर्देशन नीरज वोराले गरेका थिेए ।