ह्रस्व दीर्घ: पहिलो दुई दिन उत्साहजनक व्यापार, आइतबार ‘गजनी भिलेन’ रावत काठमाडौंका हल जाने



काठमाडौं – नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको पहिलो दुई दिनमै उत्साहजनक व्यापार गरेको छ । बताइए अनुसार पहिलो दुई दिनमा यो चलचित्रले करिब डेढ करोड ग्रस कलेक्सन गरेको छ । यस चलचित्रले काठमाडौं मात्र नभई नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धनगढी लगायतका सहरमा पनि सफल व्यापार गरेको छ ।

दर्शकको उत्साहजनक साथ पाएपछि यसको टिम काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए । हलमा पुगेका दर्शकले ताली र सिटीका साथ स्वागत गर्दै ‘ह्रस्व दीर्घ’को दोस्रो भाग बनाउन माग गरेका छन् । वितरक मनोज राठीका अनुसार, शोहरूको अभावमा धेरै दर्शक टिकट नपाएर फर्किनु परेको छ । यस चलचित्रकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुङ्गानाले चलचित्रले आक्रामक व्यापार गर्दा पनि शनिवार शो नथपिएको गुनासो गरिन् ।

यसको सफलताका बीच, ‘गजनी भिलेन’का रूपमा चर्चित दक्षिण भारतीय अभिनेता प्रदीप रावत आइतबार नेपाल आउँदै छन् । निर्देशक चन्द्र पन्तका अनुसार, रावत श्रीमतीसहित दिउँसो १-२ बजे काठमाडौं आइपुग्नेछन् र उनी आफ्नो अभिनीत फिल्म ‘ह्रस्व दीर्घ’ हेर्न र दर्शकसँग साक्षात्कार गर्न काठमाडौंका विभिन्न हलमा पुग्नेछन् ।

‘ह्रस्व दीर्घ’मा प्रदीप रावतले अभिनेत्री नीता ढुङ्गानाको बुवाको भूमिकामा अभिनय गरेका छन् । यस चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ । बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालद्वारा खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu