‘पूर्ण बहादुरको सारङ्गी’ उतारिएका अधिकांश हलको इजाजत रद्द रहेको पाइयो, बोर्डले एक्सन लिने



काठमाडौं – नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै  केही चलचित्र घरहरूले व्यापारमा छल गरिरहेको भन्दै ती हलहरूमा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छन् । सो निर्णय पछि चलचित्र विकास बोर्डले यस विषयलाई प्रतिक्रिया जनाएको छ।

बोर्डले निर्माता पक्षको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो । बोर्डका अनुसार, ती हलहरूमध्ये केही हलको चलचित्र प्रदर्शन इजाजत पत्र रद्द भइसकेको भए पनि उनीहरूले बक्स अफिस प्रणालीको बेवास्ता गर्दै म्यानुअल टिकट वितरण गरी प्रचलित कानुनको उल्लङ्घन गर्दै आएको देखिएको हो । 

बोर्डले यस्ता गतिविधिलाई नेपाली चलचित्र क्षेत्रको अनुशासन र विश्वसनीयतामा गम्भीर चुनौतीको रूपमा लिँदै तत्काल छानबिन गरी कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ । यसअघि पनि ती हलहरूलाई लिखित र मौखिक चेतावनी दिइसकिएको स्मरण गराउँदै बोर्डले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६, आर्थिक ऐन, २०८१ र चलचित्र नियमावली, २०५७ को प्रावधान अनुसार कठोर कदम चाल्ने बताएको छ ।

विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिणा हल, गोरखाको गोरखा हल, बर्दिबासको बर्दिबास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपेक हल, बुटवलको द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुर्ती हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा यो चलचित्र उतार्ने निर्णय निर्माताले गरेका थिए ।

निर्माताले उठाएको यो कदम र बोर्डको कडा चेतावनीले नेपाली चलचित्र क्षेत्रभित्र भइरहेको अनियमिततालाई सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu