काठमाडौं – काठमाडौं उपत्यका बाहिरका २० वटा चलचित्र हलले उपलब्ध गराएको व्यापारिक रिपोर्टमा असन्तुष्टि जनाउँदै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘बोल्ड’ निर्णय गरेका छन् । शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै निर्माण कम्पनी सेभेन सिज सिनेमाले शनिवारदेखि ती हलहरूमा चलचित्र नदिने जनाएको हो ।
विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिणा हल, गोरखाको गोरखा हल, बर्दिबासको बर्दिबास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपेक हल, बुटवलको द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुर्ती हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा यो चलचित्र उतार्ने उल्लेख गरिएको छ ।
निर्माताले यस निर्णयले दर्शकहरूमा पर्ने असुविधाप्रति क्षमा माग्दै नजिकको अर्को हलमा गएर हेर्न अनुरोध गरेका छन् ।
यस चलचित्रले रिलिजको १५ दिनमा नेपालमा मात्र २९ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ ।